काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)को आयोजनामा सुरू भएको तेस्रो संस्करणको ‘हिमालयन हाइड्रो एक्सपो’ शनिबार (आज)बाट सुरू भएको छ । एक्सपो उत्पादिन बिजुली आन्तरिक खपतको बजार र निर्यात सम्भावनाको खोजी गर्ने लक्ष्यसहित आयोजना गरिएको हो ।
तीन दिन (१९ चैतदेखि २१ चैत) सम्म चल्ने एक्सपोको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी छिन् । उनले कार्यक्रमको उद्घाटन गर्दै नेपालको जलविद्युत क्षेत्रमा निजी क्षेत्रले ठूलो उपलब्धि हासिल गरेको बताइन् ।
उनले बिजुली उत्पादनमा उत्साहजनकरूपले निजी क्षेत्र लागि परेको र यसबाट समग्र मुलुकले लाभ लिएको उनको भनाइ छ । नेपालको राष्ट्रिय ऊर्जा आवश्यक्ता पुरा गर्ने गरी जलविद्युतमा लगानी अभ्यास हुन थालेको समेत आधा सताब्दी भइसकेको उनको भनाइ छ ।
यद्यपि, ठूलो लगानीका बाबजुत सबै स्थानमा बसोबास गर्ने नागरिकले बिजुली बाल्न नपाएको र उद्योगहरूले मागेजति बिजुली नपाइरहनु दुखको विषय रहेको भण्डारीको भनाइ छ ।
यसैगरी, उद्घाटन सत्रमा बोल्दै इप्पानका अध्यक्ष कृष्णप्रसाद आचार्यले बिजुलीको आन्तरिक बजार खोज्ने र निर्यात सम्भावना बारे छलफल गर्न यो एक्सपो आयोजना गरेको बताए ।
यससँगै नेपाल सरकारको १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्न समेत एक्सपोले सहयोग गर्ने अपेक्षा लिइएको छ ।
हाल सरकारले विगत तीन वर्षदेखि ‘रन अफ दि रिभर’ (नदी प्रवाहमा आधारित)आयोजनाको बिजुली खरिद सम्झौता (पीपीए) रोकेर राखेको छ । यो तत्काल खोल्नुपर्ने समेत एक्सपोमा बताइएको थियो ।
एक्सपोमा छानामूनी जलविद्युत उत्पादक, निर्माण सामाग्री ढुवानीकर्ता र वितरकहरूको उपस्थिति छ । यसबाट, उत्पादित बिजुली खपत गर्ने बजार खोज्न सहयोगी भूमिका मिल्ने अपेक्षा लिइएको छ ।
एक्सपोको उद्घाटन सत्रअघि फर्पिङसम्म विद्युतीय सवारी र्याली सम्पन्न गरिएको थियो ।