काठमाडौं । चितवनको भरतपुर महानगरपालिका र खैरहनी नगरपालिकाको विभिन्न आठ वटा कुखुरा फार्ममा बर्ड फ्लु भेटिएको छ । खैरहनी र भरतपुरका चाररचार वटा फार्ममा बर्ड फ्लु भेटिएको हो ।
बर्ड फ्लु भेटिएका भरतपुरका दुई र खैरहनीको एउटा फार्ममा गरी चार हजार ६ सय कुखुरा रहेका छन् । बाँकी फार्ममा रहेका कुखुरा गन्न बाँकी छ ।
चितवनमा बर्ड फ्लु बढेपछि पशु सेवा विभागका महानिर्देशक डा। रामनन्दन तिवारीसहितको विज्ञ टोली चितवन पुगेको छ । चितवन पुग्नुभएका तिवारीले अहिलेसम्म देशभरका १३ जिल्लामा बर्ड फ्लु देखिएको जानकारी दिए ।
मोरङ, सुनसरी, उदयपुर, बारा, पर्सा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, चितवन, मकवानपुर र कास्कीमा बर्ड फ्लु देखिएको हो ।
सबै जिल्लामा गरी अहिलेसम्म ८८ हजार आठ सय पक्षी मारिएको, ५१ हजार सात सय ६३ अण्डा नष्ट गरिएको, ३० क्विन्टल २१ किलो दाना र २० किलो मासु नष्ट गरिएको महानिर्देशक तिवारीले जानकारी दिए ।
नष्ट गरेको कुखुरा तथा कुखुराजन्य वस्तुबापत सरकारले आठ करोड रुपैयाँभन्दा धेरै खर्च गरिसकेको उनले बताए ।