भक्तपुर । संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत र मजबूत बनाउनको निम्ति स्थानीय सरकारले खेलेको भूमिका उल्लेखनीय रहेको छ । पहिलोपटक स्थानीय सरकारको नेतृत्व गरेको स्थानीय तहका जननिर्वाचित प्रतिनिधिहरुले संघीयतालाई बलियो बनाउन गर्विलो भूमिका निर्वाह गर्नुभएको छ ।
खासगरी सूर्यविनायक नगरपालिका वडा नम्बर ७ (गुण्डू) मेरा लागि जन्मथलो मात्र नभइ राजनीतिक यात्राको आधारभूमि पनि रहेका कारण म सदैव ऋणि समेत रहनेछु ।
तत्कालिन अवस्थामा २०५४ सालमा मैले गुण्डू गाविसको नेतृत्व सम्हाल्दै गर्दा गुणस्तरीय सडकको अभावमा गुण्डूवासीले सूर्यविनायक, सल्लाघारी र ठिमी चोकसम्म यात्रा गर्दा हातमा जुत्ता बोकेर हिड्नुपर्ने अवस्थालाई मैले चाहेर पनि बिर्सिन सक्दिन ।
गुणस्तरीय शिक्षाको अभाव, विद्युत पहुँचको कमी त थियो नै दूर सञ्चार तथा सूचना र प्रविधि जस्ता बिषय हाम्रा लागि धेरै परको बिषय थियो । आधारभूत रुपमा सडक पूर्वाधारको कमी थियो भने खानेपानीको पर्याप्त व्यवस्थापन हुन नसक्दा परम्परागत पँधेरो र खोलाहरुमा नै निर्भर हुनुपर्ने बाध्यकारी अवस्था थियो । श्रोत र साधनको अभाव हुनु स्वभाविक नै थियो भने केन्द्रसम्मको पहुँच पुग्न नसक्दा राष्ट्रिय योजनामा पूर्वाधारका योजना अत्यन्तै कम पर्दथे । राजधानीसँग जोडिएर पनि बत्तिमुनिको अँध्यारो भूगोलका रुपमा रहेको गुण्डूलाई सम्झिँदा मलाई पीडा बोध हुन्थ्यो । यद्यपि, मैले गाविसको नेतृत्व सम्हालेपछि गाविसले प्राप्त गर्ने श्रोत र साधनलाई यथोचित रुपमा परिचालन गर्ने कामलाई अगाडि बढायौं । यस क्षेत्रको बुढीगण्डकी पुल निर्माणदेखि साविकका सडकहरुको स्तरोन्नति गर्ने, सार्वजनिक यातायातलाई सुचारु गर्ने, टेलिफोन लाइन विस्तार, स्कूल भवन मर्मत, विद्युतमा पहुँच बृद्धि जस्ता कार्यलाई हामीले प्राथमिकताका साथ अगाडि बढायौं ।
विक्रम सम्बत् २०७२ को महाभूकम्पले यहाँका धेरै संरचनाहरु ध्वस्त भयो । त्यसको पुनर्निर्माण गर्ने दायित्व र चुनौती हामीमा थपियो । यद्यपि, स्थानीय तहमा नयाँ नेतृत्व आइसकेपछि विशेष अनुदान अथवा समपूरक अनुदान लगायतका शीर्षकमा प्राप्त बजेटको समुचित प्रयोग हुनु आफैमा उल्लेखनीय कार्य मान्न सकिन्छ । यसका निम्ति म यस वडाका वडा अध्यक्ष रविन्द्र सापकोटा, वडा सदस्य अर्जुन खतिवडा लगायतका अन्य साथीहरुलाई विशेष आभार प्रकट गर्दछु ।
त्यसो त म स्वयं संघीय सांसद भएपछि राज्यसँग मेरो वैयक्तिक पहुँचलाई यस क्षेत्रको समग्र विकासमा समेत हामीले अधिकतम उपयोग गर्न सफल भएका छौं । यो अवधिमा फुटपाथसहितको झण्डै १३ किलोमिटर कालोपत्रे सडक निर्माण भएको छ । अहिले एक घर एक खानेपानी धारा लगभग पुगेको अवस्था छ । वडामा दुईवटा विद्यालयहरु माध्यमिक तहको हुने चरणमा छन् । गुण्डू स्वास्थ्य चौकीले भक्तपुर जिल्लाकै दोश्रो स्वास्थ्यचौकीका रुपमा काम गरेको छ । परम्परागत मठमन्दिर तथा सिचाइँका लागि कुलोहरु निर्माण, परती जग्गाको संरक्षण, खेलमैदान, पार्कहरु निर्माण, निजी क्षेत्रको सहकार्यमा पर्यटकीय क्षेत्रको विस्तार लगायतका धेरै कामहरु भएका छन् । त्यस बाहेक पनि गुण्डू क्षेत्रलाई स्मार्ट सिटी निर्माण गर्न डिपिआर पनि तयार भइसकेको छ । देशका १२ वटा स्मार्ट सिटीभित्र यो पनि परेको छ । सूर्यविनायक जंगल क्षेत्रलाई राष्ट्रिय प्राणी उद्यान केन्द्रका रुपमा अगाडि बढाइएको छ । गुण्डूको ११ रोपनी जग्गामा यातायातको कार्यालय निर्माण गर्ने प्रक्रिया पनि अगाडि बढेको छ ।
यसैगरी गुण्डूको सुवर्णेश्वर बाहुनडाँडा क्षेत्रमा राष्ट्रिय स्तरको अस्पताल निर्माण गर्ने प्रक्रिया पनि अगाडि बढेको छ । यो १५/२० बर्षको अवधिलाई फर्केर हेर्दा कुनै ठाउँ ल्याएर साटेको जस्तो देखिन्छ । अहिले ४/५ बर्षको दौरानमा यो क्षेत्रका चेलीबेटीहरु माइत आउँदा र दाजूभाईहरु आफ्ना दिदीबहिनीलाई भेट्न यस क्षेत्रमा आउँदा घरै नचिन्ने अवस्था बनेको छ । हामी तीनवटै निकायहरु संघ, प्रदेश र स्थानीय तहको समन्वयमा खटेर लागेका कारण यो परिणाम आएको हो । यसको निम्ति निजी क्षेत्रको भूमिका पनि उल्लेखनीय रहेको छ । अहिले गुण्डूको विकास हार्डवेयरमा मात्र नभइ सफ्वेयरमा समेत भएको छ । नेपालभरिका वडाहरुको तुलना गर्ने हो भने गुण्डू सर्वाेत्कृष्ट गाविसमा पर्ने मेरो विश्वास छ ।
प्रस्तुती : विमल थापा