काठमाडौं । निर्वाचन आयोगलाई निर्वाचन आचारसंहिताको पूर्णपालना गर्ने/गराउने सिलसिलामा कडाइका साथ प्रस्तुत हुन सुझाव दिइएको छ ।
निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनका सन्दर्भमा आयोग र नेपाल कानुन समाजको सहकार्यमा मुलुकका विभिन्न स्थानमा भइरहेको छलफलमा राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज र सङ्घसंस्थाबाट यस्तो सुझाव दिइएको हो ।
निर्वाचन आचारसंहिता जारी र अनुगमन गरिए पनि आयोगले कारबाही गर्दैन त्यो देखाउने दाँत मात्रै हो भन्ने बुझाइलाई आगामी स्थानीय तह निर्वाचनमा चिर्न विभिन्न संयन्त्र र रणनीति बनाएर काम गर्ने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।
निर्वाचन आचारसंहिता विगतभन्दा फरक, विस्तृत र धेरै क्षेत्रलाई समेटिएकाले राजनीतिक दल, उम्मेदवार र सरोकारवाला पक्षको काम, कर्तव्य र अधिकारबारे नजिक स्थानमा पुगेर जानकारी गराउने उद्देश्यले आयोग र समाजद्वारा सात प्रदेशसहित देशका १५ स्थानमा अन्तरक्रिया गरिएको छ ।
विराटनगर, इलाम, पर्सा, रौतहट, जनकपुर, नुवाकोट, मकवानपुर, चितवन, कास्की, बाग्लुङ, दाङ, बाँके, सुर्खेत, कैलाली र काठमाडौँमा ‘निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवलाको भूमिका’ विषयमा अन्तरक्रिया गरिएको हो ।