काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा सुशासन स्थापना र विकास गर्ने पार्टी एमाले नै भएको दाबी गरेका छन् । उदयपुरको सदरमुकाम गाईघाटस्थित लोकतान्त्रिक चोकमा एमालेले शुक्रबार आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले भने, “एमाले हिजो पनि देश र जनताको विकास तथा सुशासन स्थापना गर्न प्रतिबद्ध थियो र आज पनि अन्य पार्टीभन्दा बढी प्रतिबद्ध छ ।”
अहिले वर्तमान पाँच दलको संयुक्त सरकार उल्टो दिशातिर चलिरहेका कारण देश अस्थिरतातिर गइरहेको आरोपसमेत लगाए ।
एमालेले देशमा गरिबी हटाउन सडक, भौतिक संरचना निर्माणको काम, लोककल्याणकरी कार्यको लागि देशको अन्य राजनीतिक दलहरूभन्दा दुईचार कदम अगाडि रहेको दाबी गर्दै उहाँले अन्य राजनीतिक दल देश विकासको काम गर्न र सुशासन स्थापनामा असफल भएको बताए ।
आफ्नो नेतृत्वमा बहुमतको सरकार रहेको बेला आफ्नै पार्टीका केही स्वार्थी नेता र अन्य पार्टीले आफूले राम्रो काम गरिरहेको कारण सरकार ढाल्ने काम गरेर विकास गर्न नदिएको अध्यक्ष ओलीले गुनासो गरे ।
उनले आगामी निर्वाचनमा एमाले निर्वाचित भएपछि पार्टीले देश विकासलाई निरन्तरता दिने बताए ।
अध्यक्ष ओलीले भने, “अहिले पनि एमाले देशको सबैभन्दा ठूलो प्रतिपक्ष पार्टी हो, आगामी वैशाख ३० को स्थानीय निर्वाचन सम्पन्न भएपछि पनि एमाले देशको सबैभन्दा ठूलो राजनीतिक पार्टी बन्ने छ ।”
उनले अलमलिएका पुराना कार्यकर्तालाई बेलैमा एमालेमा सङ्गठित हुन आह्वान गरे ।