काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ इन्टरनेसनल कमिसन अफ जुरिस्ट (आईसीजे) को आयुक्तमा पुनः निर्वाचित भएका छन् । प्रधानन्यायाधीशबाट अवकाशपछि श्रेष्ठ यसअघि २०७३ पुसमा पहिलो पटक आयुक्तमा निर्वाचित भएका थिए ।
दोस्रो पटक पाँच वर्षे कार्यकालका लागि श्रेष्ठ आयुक्तमा पुन निर्वाचित भएका हुन् । स्विट्जरल्याण्डको जेनेभामा मुख्यालय रहेको अन्तर्राष्ट्रिय संस्था आईसीजेमा लब्धप्रतिष्ठित न्यायाधीश, संविधानविद् तथा कानुनविद्हरू रहन्छन् ।
सन् १९५२ मा स्थापित आईसीजे न्यायाधीश र वकिलहरूको स्वतन्त्रता, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको सम्मान, व्यापार र मानव अधिकारको क्षेत्रमा काम गर्छ । त्यस्तै संस्थाले महिला मानव अधिकार, विश्वव्यापी सुरक्षा र कानुनको शासनलगायत क्षेत्रमा काम गर्दछ ।
पूर्वप्रधानन्यायाधीश श्रेष्ठ क्याम्ब्रिज युनिभर्सिटी प्रेसले प्रकाशित गरेको ‘टावरिङ जजेज्ः अ कम्प्यारेटिभ स्टडी अफ कन्स्टिच्युसनल जजेज्’ पुस्तकमा संसारकै उत्कृष्ट न्यायाधीशहरूसँगै सूचीकृत भएका थिए ।
पुस्तकमा श्रेष्ठ नेपालको तर्फबाट परेका थिए भने अमेरिका, बेलायत, सिंगापुरलगायत देशका न्यायाधीशहरूसँगै सूचीकृत भएका थिए ।
पुस्तकमा हङकङकी प्राध्यापक डा. मारा मालगोडीले पूर्वप्रधानन्यायाधीश श्रेष्ठले नेपालको न्यायिक स्वतन्त्रता बचाउन ठूलो साहसका साथ संवैधानिक भूमिका र व्यावसायिक निष्ठापूर्वक काम गरेको उल्लेख गरेकी थिइन् ।