काठमाडौं । चिनियाँ विदेश मन्त्री वाङ यी काठमाडौं आइपुगेका छन् । तीन दिने भ्रमणका लागि उनी शुक्रबार (आज) काठमाडौं आएका हुन् । भारतको नयाँ दिल्लीबाट काठमाडौं आइपुगेको उच्चस्तरीय भ्रमण टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्री नारायण खड्काले स्वागत गरेका छन् ।
स्वागत कार्यक्रममा परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीलगायत सहभागी छन् । विमानस्थलबाट विदेश मन्त्री वाङ यी सोझै होटल द्वारिकाज पुगेका छन् ।
भ्रमणको दोस्रो दिन भोलि शनिवार बिहान विदेश मन्त्री यी शिवपुरी हाइकिङ जाने कार्यक्रम रहेको छ । त्यसपछि परराष्ट्र मन्त्री नारायण खड्कासँग सिंहदरबारमा भेट हुनेछ ।
भेटमा नेपाल र चीनबीच विभिन्न विषयमा द्विपक्षीय सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यसपछि वाङ यीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्नेछन् ।
त्यस्तै आइतवार बिहान वाङ यीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई शीतल निवासमा भेट्ने तालिका छ । यस्तै विदेश मन्त्री वाङ यीले पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट गर्नेछन् ।
चीन र नेपालका परराष्ट्रमन्त्रीसहितको द्विपक्षीय वार्ता भोलिका लागि तय भएको छ । उनको भ्रमणलाई मध्यनजर गरेर काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
नेपाल प्रहरीको विशेष टोली खटिएको छ । अमेरिकी सहायता परियोजना एमसीसी पारित गर्ने क्रममा चीनले पनि विभिन्न प्रतिक्रिया दिएको थियो ।
एमसीसी पारित भएपछि हुन लागेको चीनका विदेश मन्त्रीको नेपाल भ्रमणलाई निकै महत्त्वका साथ हेरिएको छ ।
चिनियाँ विदेश मन्त्रीको भ्रमणका क्रममा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि लिइएको ऋणको ब्याज घटाउन, चीनमा मेडिकल शिक्षा पढिरहेका तर कोरोनाका कारण नेपाल आएका विद्यार्थीलाई फेरि चीन लैजान, बीआरआई अन्तर्गतका आयोजना कार्यान्वयनमा चीनले अनुदान दिनुपर्ने लगायतका विषय उठाउने नेपालको तयारी छ ।