काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त दल बाहेकका ७३ वटा राजनीतिक दलहरूलाई आफ्नो दलको निर्वाचन चिन्ह प्रदान गर्ने निर्णय गरेको छ । यसअघि स्थानीय तहको निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त दल बाहेकका प्रतिनिधिहरुले स्वेच्छिक चिन्ह लिएर उठ्नुपर्ने प्रावधान थियो ।
बिहीवार निर्वाचन आयोगको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । उनले ७३ वटा राजनीतिक दलहरूलाई आफ्नो दलको निर्वाचन चिन्ह प्राप्त गर्नका लागि जिल्ला स्तरको संगठन संरचना जिल्ला समितिको विवरण २०७८ को चैत्र ६ गतेभित्र पेस गर्न पत्राचार गरिएको पनि बताए ।
प्रवक्ता पौडेलले आगामी स्थानीय निर्वाचन २०७९ लागि निर्वाचनको समयमा निर्वाचन समितिको प्रतिलिपि २० लाख रुपैयाँको सामूहिक दुर्घटना बीमा गर्न राष्ट्रिय बीमा संस्थानसँग मिति ०७८/१२/०२ मा सम्झौता गरिसकेको पनि बताए ।
यसैबीच, निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन २०७९ का लागि आचारसंहिता जारी गरेको छ । आचारसंहिताको परिच्छेद ४ मा राजनीतिक दल, उम्मेदवार तथा दलको भातृ संगठनले पालना गर्नुपर्ने आचारसंहिता तय गरिएको छ ।
त्यहाँ जुलुस, आमसभा, कोणसभा, बैठक एवम् भेला गर्दा पालना गर्नुपर्ने आचरणका रुपमा गर्न हुने र नहुने विषय स्पष्ट पारिएको छ । निर्वाचनमा बढ्दो खर्च नियन्त्रण गर्न भड्किलो प्रचारशैलीलाई रोक लगाइएको छ ।
सार्वजनिक स्थान तथा कसैको निजी घरमा अनुमति नलिइ प्रचार सामग्री टाँस्न समेत नपाइने भएको छ ।