काठमाडौं । फागुपूर्णे तथा होलीमा रंग खेल्ने संस्कृति विस्तार भएसँगै नेपालको वैदेशिक व्यापारमा समेत असर पर्न थालेको छ । होलीमा खेलिने रंग, बेलुन र पीचकारी आयात गर्दा पछिल्ला वर्ष नेपालबाट अर्बौं रुपैयाँ बाहिरिएको छ ।
फागु मनाउने सामान पनि किन्नुपर्दा व्यापारघाटा थप चुलिएको छ । भन्सार विभागका अनुसार चालू आर्थिक वर्ष २०७८/७९ को सात महिना (माघ) सम्ममात्रै करिब २ अर्ब रुपैयाँको रंग आयात भएको छ ।
विश्वका विभिन्न मुलुकबाट माघसम्ममा १ अर्ब ९५ करोड रुपैयाँभन्दा बढीको रंग भित्रिएको विभागको तथ्यांकले देखाएको छ । आयात गरिएकोमध्ये अधिकांश रंग फागुलक्षित नै हो ।
व्यापक रूपमा होली मनाउन थालिए पनि यसमा प्रयोग हुने सामान नेपालमा उत्पादन हुँदैन । उत्पादन भएपनि बजारको माग धान्नेगरी उद्योगहरूले आपूर्ति गर्न नसक्ने गरेको विभागको आयात तथ्यांकले देखाउँछ ।
यसबाहेक, पीचकारी, बेलुन र होलीमा प्रयोग हुने ‘ह्याप्पी होली’ अंकित वा होली विशेष टिर्सटसमेत विदेशबाटै भित्रिन्छ । सात महिना अवधिमा सबैभन्दा धेरै रंग दक्षिण छिमेकी मुलुक भारतबाट आयात भएको छ ।
विभागका अनुसार भारतबाट साउनदेखि माघ महिनासम्ममा १ अर्ब १८ करोड रुपैयाँभन्दा धेरैको रंग भित्रिएको छ । भारतपछि चीनबाट सबैभन्दा धेरै रंग आयात भएको विभागको तथ्यांकले देखाएको छ ।
गत आर्थिक वर्ष २०७७/७८ को सात महिना अवधिमा १ अर्ब ७६ करोड रुपैयाँको रंग भित्रिएको थियो ।