काठमाडौं । लागुऔषध नियन्त्रण ब्यूरोले खैरो हिरोइन कारोबार गर्ने १२ जनालाई पक्राउ गरेको छ । ब्यूरोबाट खटिएको प्रहरी टोलीले खैरो हिरोइन १९१.७१० ग्रामसहित अवैध कारोबारमा संलग्न १२ जना मानिसहरुलाई पक्राउ गरेको हो ।
उपत्यकामा लागुऔषधको अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा गत फागुन २३ गते काठमाडौँको कागेश्वरी मनोहरा नपा वडा नं. ७ स्थित सडक किनारमा ३३ वर्षीय विक्रम नगरकोटी, २१ वर्षीय रोजन बस्नेत र ४६ वर्षीय माधवप्रसाद दाहाललाई १५० मिलिग्राम खैरो हिरोइनसहित पक्राउ गरिएको थियो ।
नगरकोटीसँग लागुऔषध कारोबारमा संलग्न ३० वर्षीय देवीसिं तामाङलाई सोही दिन १७० मिलिग्राम खैरो हिरोइनसहित भक्तपुरको चाँगुनारायण नपा वडा नं. ४ बाट पक्राउ गरिएको थियो । तामाङसँग लागु औषध कारोबारमा संलग्न मोरङ घर भएकी ३१ वर्षीया कविता गुरुङ र काभ्रेपलान्चोक निवासी ३३ वर्षीय मिलन लामालाई गुरुङको काठमाडौँको कागेश्वरीमा रहेको डेरा कोठाबाट ६५.५ ग्राम खैरो हेरोइनसहित नियन्त्रणमा लिइएको ब्यूरोको भनाइ छ ।
यता गुरुङलाई लागुऔषध उपलव्ध गराउने जिल्ला सुनसरी घर भएका २२ वर्षीय मिथुनकुमार यादव र १९ वर्षीय प्रमोदकुमार सरदारलाई ९६ ग्राम ७९० मिलिग्राम हेरोइनसहित फागुन २७ गते पक्राउ गरी आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाइएको छ ।
ब्यूरोले फागुन २६ गते जिल्ला सिन्धुपाल्चोकका २५ वर्षीय रोमन भण्डारी र दोलखाका २५ वर्षीया प्रज्ञा कार्कीलाई काठमाडौँको कागेश्वरीबाट २९ ग्राम खैरो हिरोइनसहित पक्राउ गरेको थियो । साथै उक्त कारोबारमा संलग्न भारत पश्चिम बंगाल मेदनापुर देवराथाना ठेगाना भएका २९ वर्षीय मिजाहिद राजालाई पनि १०० मिलिग्राम खैरो हिरोइनसहित पेप्सीकोलाबाट र सिन्धुपाल्चोक घर भएका ३८ वर्षीय राजेश नेपाललाई पनि ब्यूरोले पक्राउ गरेको छ ।
पक्राउ परेकाहरूलाई लागु औषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भईरहेको प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिए ।