काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले नेपालका राजनीतिक शक्तिहरू दुई धारमा बाँडिएको बताएका छन् । शुक्रवार (आज) पोखरामा आयोजित प्रेस चौतारी नेपालको नवौँ महाधिवेशनलाई सम्बोधन गर्दै उनले राजनीतिक शक्तिहरू एउटा लोकतन्त्रको पक्षमा र अर्को जालीझेली षड्यन्त्रमा लागिपरेको बताएका हुन् ।
अध्यक्ष ओलीले देशको अर्थतन्त्र ध्वस्त भइरहेको पनि बताए । उनले अहिले भइरहेका जालझेललाई आउँदो चुनावबाट ध्वस्त बनाइने पनि दाबी गरे ।
अध्यक्ष ओलीले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भएका बेला जङ्गे बनेका पुष्पकमल दाहाल ’प्रचण्ड’ र माधवकुमार नेपाल अहिले बुङ्गे भएको टिप्पणी गरे । उनले सरकार ढालेँ भन्नेहरू अहिले ढोकाबाहिर कसैले प्रसाद दिन्छन् कि भनेर बसिरहेको पनि बताए ।
यस्तै उनले सर्वोच्च अदालतमा अपत्यारिलो ढङ्गबाट गोरु ब्याएको टिप्पणी समेत गरेका छन् । उनले सर्वोच्च अदालतमा अहिले गोरु ब्याएको मात्र नभइ पाँच वटा गठबन्धनरूपी बाच्छा पनि पाएको बताए ।
अध्यक्ष ओलीले अहिले संविधान, जनादेशको माहोल र जनतामा रहेको सार्वभौम सत्ताको मजाक उडिरहेको बताएका छन् ।
अध्यक्ष ओलीले भने,‘संविधानको मजाक उडाइएको छ । जनादेशको माहोल र जनतामा रहेको सार्वभौम सत्ताको मजाक उडाइएको छ । सेटिङमा सबै काम भइरहेको छ । एक जना न्यायाधीशले अमेरिकाबाट इमेल लेख्छन् केपी ओलीको सरकार नढाली भएको थिएन, त्यसैले संविधानबाहिर गएर फैसला लेख्नुपरेको हो । ती न्यायाधीशको के बिगारिदिएको थियो त्यो सरकारले ? एक जनाले गोरु ब्याउँदैन भन्थे, नेपालको संविधानमा ब्यायो । उहिले भनेका थिए २०५२ सालमा । अहिले गोरु ब्यायो मात्रै होइन, पाँच वटा बाच्छा पायो । जुन गठबन्धन भनिन्छ नि ।’