काठमाडौं । पाँचौ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधिका लागि शनिबार (भोलि) साबिक बिजेता मनाङ मर्स्याङ्दी क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुँदैछ । धनगढी रंगशालामा हुने फाइनल अघिको पत्रकार सम्मेलनमा दुबै टिमका प्रशिक्षकले उपाधि जित्ने दाबी गरेका छन् ।
दुवै टिमले जितका लागि खेल्ने बताए । मनाङका प्रशिक्षक राजेन्द्र तामाङले जितका लागि खेल्ने बताए । मनाङका कप्तान अन्जन विष्टले प्रतियोगिताको सबै खेललाई फाइनल सरह नै लिएको तथा आफूहरु फाइनल खेल्न तयार रहेको बताए ।
अन्जनले फाइनल खेलका लागि कुनै पनि दवाव नरहेको समेत बताए । सेमिफाइनलमा मनाङले हिमलायन शेर्पा क्लबलाई पेनाल्टीमा ४–२ ले पराजित गरेको थियो ।
फ्रेन्ड्सका प्रशिक्षक मृगेन्द्र मिश्रले मनाङ राम्रो टिम रहे पनि जितका लागि खेल्ने बताए । फ्रेन्ड्स बागमती युथ क्लबलाई २–१ ले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो ।
सुदुरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ नगद प्राप्त गर्नेछ । उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ ।
सर्वोत्कृष्ट खेलाडीले मोटरसाईकल पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्नेछन् ।
फाइनल प्रतियोगिता शनिबार धनगढीस्थित रंगशालामा दिउसो ३ बजेदेखि आयोजना हुने छ ।