काठमाडौं । नेपाली कांग्रेस धनुषाको नेतृत्व चयनका लागि आज हुने भनिएको दोश्रो चरणको चुनाव शुक्रबारका लागि सारिएको छ । पार्टीको जिल्ला निर्वाचन अधिकृत अरुणकुमार ज्ञवालीले सूचना जारी गर्दै शुक्रबार बिहान ८ बजेदेखि तिरहुतिया गाछीमा चुनाव हुने जनाएका हुन् ।
यसअघि, आज बिहान ८ बजेबाट मतदान हुने तय भएको थियो । नेपाली कांग्रेस धनुषाको १४ औँ जिल्ला अधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि सोमबार भएको पहिलो चरणको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान हुने भएको हो ।
सभापति पदका लागि विमलेन्द्र निधि समूहका उम्मेदवार योगेन्द्र पञ्जियार, संस्थापन पक्षका उम्मेदवार सन्तोष यादव र शेखर कोइराला समूहका उम्मेदवार दिनेश प्रसैलाले प्रतिस्पर्धा गरेका थिए । पहिलो चरणमा पञ्जियारले सबैभन्दा बढी १ हजार २४८ मत ल्याएका छन् । त्यस्तै, सन्तोष यादवले ८ सय ८२ र दिनेश प्रसैलाले ६ सय ३० मत ल्याएका छन् ।
यसैबीच कांग्रेस बाराको बुधबार सम्पन्न निर्वाचनको सभापति पदको नतिजा सार्वजनिक भएको छ । कूल दुई हजार ४९३ मतदाता रहेकामा जम्मा दुई हजार ४०० मत खसेको प्रमुख निर्वाचन अधिकृत राजकुमार उप्रेतीले जानकारी दिए ।
सभापतिका उम्मेदवार राजेश राय यादवले ८३३ मत सहित पहिलो, शम्भुबहादुर बुढाथोकी ८०९ मतसहित दोस्रो र रमानन्द यादव ७०८ मतसहित तेस्रो स्थानमा आएका छन् । निर्वाचन अधिकृत उप्रेतीले २८ मत बदर भएको जानकारी दिए ।
यस निर्वाचनमा ५१ प्रतिशत मत हासिल गर्न कुनै पनि उम्मेदवारले नसकेपछि दोस्रो चरणमा मतदान हुने भएको छ ।