काठमाडौं । निर्वाचन आयोगले प्राविधिक कारणले आसन्न स्थानीय तह चुनावमा प्रयोग हुने मतपत्रको मसी परिवर्तन गर्ने निर्णय गरिएको प्रष्ट पारेको छ । आयोगमा बिहीवार आज आयोजित नियमित पत्रकार सम्मेलनमा सहप्रवक्ता सूर्यप्रसाद अर्यालले मतपत्र र स्वस्तिक छापबीचको ‘रङ्ग भिन्नता’ छुट्याउन मात्र मतपत्र छपाइको मसी परिवर्तन गर्ने निर्णय गरिएको प्रष्ट पारे ।
आयोगले स्थानीय तह चुनावका लागि आवश्यक मतपत्र छपाइ गर्दा मतपत्रमा छपाइ हुने चिह्न, विवरण तथा सुरक्षण चिह्न हरियो (एसके–३०८१ स्पेक्ट्रम ब्राइट ग्रीन) मसीले छपाइ गर्ने निर्णय गरेको थियो । मतपत्र छपाइको मसी परिवर्तन गर्ने आयोगको निर्णयपछि दलहरूले फरक–फरक प्रतिक्रिया जनाएका छन् ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले मतपत्र छपाइको मसी प्रयोग गर्ने आयोगको निर्णयप्रति आशङ्का व्यक्त गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले मतपत्र छपाइको मसी परिवर्तन गर्नुका कारण स्पष्ट पार्नुपर्ने बताएका थिए ।
सहप्रवक्ता अर्यालले प्राविधिक कारणले मात्र स्थानीय तह चुनावको मतपत्रको मसी परिवर्तन गर्ने निर्णय गरिएको बताए । आयोगले २०७४ सालको चुनावमा मतपत्र निलो मसीले छपाइ गरेको थियो ।
मत्रपत्रमा छपाइ भएको चिह्न, विवरण तथा सुरक्षण चिह्न र स्वस्तिक छापको मसी निलो हुँदा रातको समयमा गणना गर्न गाह्रो भएका कारण मात्र मसी परिवर्तन गर्ने निर्णय गरिएको उनको भनाइ छ । स्थानीय तहको चुनावमा एउटा मतपत्रमा मतदाताले सात ठाउँमा स्वस्तिक छाप लगाउनुपर्छ ।
निर्वाचन चिह्न र स्वस्तिक छापको मसी निलो हुँदा चिह्नमा छाप लागेको अवस्थामा छुट्याउन गाह्रो हुने गरेको थियो । आयोगको यस निर्णयप्रति कसैले पनि आशङ्का गर्नुपर्ने कारण नभएको उल्लेख गर्दै उनले कसैलाई द्विविधा भए प्रष्ट पार्न आयोग तयार रहेको बताए ।
मतपत्र छपाइको मसी कस्तो प्रयोग गर्ने भन्ने अधिकार आयोगको रहेको भन्दै उनले मसी परिवर्तन नहुने सङ्केत गरे । सहप्रवक्ता अर्यालले मतदाता नामावली अद्यावधिकका काम भइरहेको बताए ।
आयोगले दोहोरिएको मतदाता नामावली हटाउने, नागरिकता त्याग गरेका र मृत्यु भएका व्यक्तिको नाम सूचीबाट हटाउनेलगायतका काम गरिरहेको छ ।