काठमाडौं । राष्ट्रिय भूमि आयोगले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा वितरण गर्ने प्रयोजनका लागि नयाँ सूचना निकालेको छ । चुनावको मुखमा सरकारले आयोगमार्फत जग्गा वितरण गर्नका लागि आवश्यक प्रक्रियालाई तिव्रता दिएको हो ।
यसअघि पहिलो चरणमा सूचना निकालेर जग्गा वितरणको प्रक्रिया थालिसकेको आयोगले फेरि अर्को ३५ दिने सूचना निकालेर जग्गा वितरण गर्ने प्रक्रियालाई तीव्रता दिन लागेको छ । आयोगले भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने प्रयोजनका लागि स्थानीय तहबाट जग्गा वितरणका लागि सूचना निकालेको हो ।
आयोगले बिहीबार जारी गरेको सूचनामा तोकिएको ढाँचा बमोजिम निवेदन फाराम भरी आजको मितिदेखि ३५ दिनभित्र स्थानीय तहबाट वडाका तोकिएका स्थानहरूमा खटिएका लगत संकलकमार्फत निवेदन पेस गर्न अनुरोध गरेको छ ।
आयोगको सूचनाअनुसार मोरङ, तेह्रथुम, सुनसरी, झापा, पाँचथर, ताप्लेजुङ, धनकुटा, भोजपुर, रौतहट, धनुषा, सर्लाही, बारा, पर्सा, सिरहा, महात्तरी, मकवानपुर, मकवानपुर, सिन्धुली, धादिङ, नुवाकोट, ललितपुर, चितवन, तनहुँ, नवलपरासी –पश्चिम) बागलुङ, कास्की, नवलपरासी पूर्व, पाल्पा, रुपन्देही, कपिलबस्तु, अर्घाखाँची, गुल्मी, बाँके, बर्दिया, दाङ, सल्यान, रुकुम पश्चिम, सुर्खेत, कञ्चनपुर, कैलाली, डडेलधुरा र बैतडी गरी ४१ जिल्लाका १५९ स्थानीय तहमा दरखास्त आह्वान भएको हो ।