काठमाडौं । पदाधिकारी चयन र जिम्मेवारी बाँडफाँटमा विवाद भएपछि स्थगित भएको माओवादी केन्द्रीय समिति बैठक सोमबार आज बस्दैछ । आन्तरिक गृहकार्य नपुगेको भन्दै आइतबारको बैठक आजसम्मको लागि स्थगित गरिएको हो ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठक स्थगित गरेर विभिन्न विषयमा सहमति जुटाउने प्रयास गरिरहे पनि सहमति भइसकेको छैन । गएको शुक्रवारदेखि सुरु भएको बैठकमा एमसीसी, पदाधिकारी चयन, केन्द्रीय समितिलाई पूर्णता दिने, स्थायी समिति गठन, पोलिटब्युरो, नेताहरूको जिम्मेवारी बाँडफाँट, स्थानीय तहको निर्वाचनलगायतका विभिन्न एजेन्डामा छलफल भइरहेको छ ।
यी एजेन्डामा सहमति जुटन नसकेपछि हिजो बस्ने बनिएको बैठक स्थगित भएको हो । सहमति जुट्न नसकेको अवस्थामा अरू एजेन्डालाई थाँती राख्दै केन्द्रीय समितिलाई पूर्णता दिएर बैठक समापन गर्ने विषयमा समेत अध्यक्ष प्रचण्डले छलफल थाल्नुभएको छ ।
माओवादीको विधानमा ३ सय १ जना केन्द्रीय सदस्य बनाउने उल्लेख भए पनि अहिलेसम्म २ सय ४६ जना मात्रै बनाइएको छ । यस्तै, केन्द्रीय कार्यालय सञ्चालनका लागि एक समिति गठन हुनेछ ।
अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, सात जना उपाध्यक्ष, महासचिव, दुई जना उपमहासचिव, तीन जना सचिव र एक जना कोषाध्यक्षसहित २ सय ९९ सदस्यीय केन्द्रीय समिति गठन गर्ने माओवादीको विधानमा उल्लेख छ । महाधिवेशन भएको दुई महिना बितिसक्दासमेत स्थायी समिति, पोलिटब्युरो, नेताहरूको जिम्मेवारी बाँडफाँट, केन्द्रीय समितिलाई पूर्णता दिने काम अझै हुन सकेको छैन ।
महासचिवमा सहमति जुटाउन समस्या भएको छ । महासचिवका लागि नेताहरु वर्षमान पुन, जनार्दन शर्मा, देव गुरुङ, पम्फा भुसाल, कृष्णबहादुर महरा, शक्तिबहादुर बस्नेतलगायतका नेताहरू दौडधुपमा छन् ।