काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । आइतबार दिउँसो २ बजेका लागि बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बस्ने भनिएको केन्द्रीय समिति बैठक अन्ततः स्थगित गरिएको हो ।
बैठकको तयारी नपुगेको तथा नेताहरुबीच आन्तरिक तयारी गर्नुपर्ने भएपनि बैठक स्थगित गरिएको एक नेताले बताए । आजै बिहान ११ बजे राष्ट्रियसभा गृहमा बस्ने भनिएको बैठक दिउँसो २ बजेका लागि स्थान नै परिवर्तन गरेर तय गरिएकामा फेरि सोमबारसम्मका लागि स्थगित गरिएको हो ।
अर्को बैठक अब सोमबार बिहान ११ बजे बस्ने तय भएको ती नेताको भनाइ छ । शुक्रबारदेखि सुरु भएको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा पहिलो दिन अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले सम्बोधन गरेका थिए ।
सो क्रममा एमसीसी पास गराउन पार्टीले गरेको सहयोगको श्रेष्ठले आलोचना गरेका थिए भने प्रचण्डले बचाउ गरेका थिए । आजको बैठकमा सांगठनिक विषयमा छलफल हुने कार्यसूची रहेको थियो ।
जसमा केन्द्रीय कमिटीको पूर्णता दिने, पदाधिकारी चयन, स्थायी र पोलिटब्युरो गठन गर्ने रहेको छ । तर, पदाधिकारी चयनका सम्बन्धमा नेताहरुबीच भागबण्डा नमिलेपछि बैठक नै स्थगित भएको बताइएको छ ।
पदाधिकारीमा त्यसमा पनि महासचिवमा माओवादीभित्र हानथाप छ । तर आन्तरिक समीकरण मिलाउन नसक्दा माओवादीभित्र पदाधिकारी चयनमा सकस देखिएको छ ।
माओवादीको महासचिवमा वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत, देव गुरुङ, पम्फा भुसाललगायतको दाबेदारी छ । माओवादी केन्द्रको पदाधिकारीमा एकजना अध्यक्ष, एकजना वरिष्ठ उपाध्यक्ष, सात जना उपाध्यक्ष, एक जना महासचिव, दुईजना उपमहासचिव, तीन जना सचिव र एक जना कोषाध्यक्ष रहने प्रावधान छ ।
तर अहिले अन्य पदभन्दा पनि सो पार्टीमा महासचिव को बन्ने भन्नेमै सबैको चासो देखिएको हो । यस्तै नारायणकाजी श्रेष्ठले वरिष्ठ उपाध्यक्षमा बस्ने चाहना राखेको बुझिएको छ ।