काठमाडौं । नेपाल आयल निगमले बढाएको पेट्रोलियम पदार्थको मूल्य बिहीवार मध्यरातिदेखि लागू भएको छ । निगमको नयाँ मूल्य सूचीअनुसार पेट्रोल तथा डिजेलको यो मूल्य अहिलेसम्मकै उच्च हो ।
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर पाँच–पाँच रुपैयाँ मूल्य बढेको छ । नयाँ मूल्यअनुसार काठमाण्डौ उपत्यकामा पेट्रोल अब प्रतिलिटर एक सय ५० रुपैयाँ तथा डिजेल र मट्टीतेल एक सय ३३ रुपैयाँ पर्नेछ ।
पेट्रोलियम पदार्थको भाउ निरन्तर बढ्दो छ । तर सरकारले इन्धनमा लगाएको कर घटाएर उपभोक्तालाई राहत दिन चासो देखाएको छैन । आईओसीबाट ९३ रुपैयाँ ७८ पैसामा खरिद गरेको पेट्रोलमा ५९ रुपैयाँ ४८ पैसा कर लाग्दै आएको छ ।
त्यस्तै ९४ रुपैयाँ १२ पैसामा खरिद भएको डिजलमा ४२ रुपैयाँ १६ पैसा कर लाग्छ । ८८ रुपैयाँ ८३ पैसामा किनिएको मट्टीतेलमा १३ रुपैयाँ ३६ पैसा र १६ सय ४१ रुपैयाँ २३ पैसामा किनेको ग्यासमा दुई सय ८० रुपैयाँ ३० पैसा कर लाग्दै आएको छ ।
करसहित निगमको ढुवानी खर्च र मुनाफा जोडेर बिक्री मूल्य तय हुन्छ । तर निगमले इन्धनमा अझै पनि घाटा रहेको जनाएको छ ।
पेट्रोलमा प्रतिलिटर १६ रुपैयाँ २८ पैसा र डिजलमा ११ रुपैयाँ७८ पैसा घाटा हुने गरेको निगमको दाबी छ । मट्टीतेलमा भने निगमलाई प्रतिलिटर झन्डै २० रुपैयाँ नाफा छ ।
पछिल्लो समय रुस–युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा नै कच्चा पदार्थको मूल्य बढेको छ । त्यसको असर नेपालमा पनि परेको हो ।
यस्तै निगमले हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ मूल्य बढाएको छ । अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर एक सय अमेरिकी डलर बढेको छ ।
खाना पकाउने एलपी ग्यासको मूल्य भने अहिलेलाई यथावत् रहेको निगमले जनाएको छ । अहिले ग्यास प्रतिसिलिन्डर १५ सय ७५ रुपैयाँ पर्छ ।