काठमाडौं । प्रधानमन्त्री केपिशर्मा ओलीको जोडबलमा दुइवटा बिवादास्पद विधेयक ल्याइएपछि नेकपा भित्र आन्तरिक विवाद उत्कर्षमा पुगेको छ ।
आन्तरिक छलफलविना विधेयक ल्याइएको भन्दै शीर्ष नेताहरुले सार्वजनिक रुपमै असन्तुष्टि जनाउन थालेका छन् । नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकतामा आघात पुग्ने काम नगर्न आग्रह गरेका छन् ।
विकसित कतिपय घटनाक्रमले पार्टी्भित्र अनेकौं आशंका र चिन्ता उत्पन्न भएको भन्दै उनले पार्टी पंक्तिलाई भावनात्मक रुपले एकतावद्ध बनाउन जिम्मेवारीका साथ अघि बढ्नुपर्ने र पार्टीलाई विधिका आधारमा सहमति, समझदारी र विश्वासका साथ अघि बढाउन आआफ्नो ठाउँबाट योगदान गर्न आह्वान गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टीको ७१ औं स्थापना दिवसको अवसर पारेर विज्ञप्ती जारी गर्दै सरकारले ल्याएको अध्यादेशलाई उल्लेख नै नगरी उनले पार्टी र सरकार कोरोना महामारीमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।
त्यस्तै नेकपाका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले पनि यसमा असन्तुष्टि जनाउनुभएको छ । उँहाले यस्तो बेलामा कुनै हालतमा अध्यादेश ल्याउन जरुरी नभएको टिप्पणी गर्नुभएको छ ।असमायिक रुपमा अध्यादेश आएको भन्दै उँहाले अध्यादेश ल्याउनुको कारण प्रधानमन्त्रीले समेत प्रष्ट पार्न नखोजेको आरोप लगाउनुभएको छ ।
नेकपा फुट्न कुनै हालतमा सम्भव नभएको भन्दै उँहाले अन्य पार्टी फुटाउनलाई अध्यादेश आएको हुनसक्ने आसंका व्यक्त गर्नुभएको छ । राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन अध्यादेश, २०७७ र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्य्विधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७७ राष्ट्रपतिले तत्काल जारी गरेसँगै कोरोनाले स्थिर बनेको नेपाली राजनीतिक वृत्तमा तरंग पैदा गरेको छ ।