काठमाडौं । शुक्रबार (आज) सर्वोच्च अदालतको संवैधानिक इजलास बस्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथि न्यायिक विचलनको आरोप लगाउँदै सर्वोच्च अदालतका न्यायाधीशहरुले उनले तोकेको पेसी बहिस्कार गरेपछि बस्न नसकेको संवैधानिक इजलास शुक्रबारदेखि तोकिने भएको हो ।
सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार शुक्रबारदेखि संवैधानिक इजलासमा पेसी तोकिने र सुनुवाइ हुनेछ। कात्तिक ८ गतेदेखि सुरु भएको आन्दोलनका कारण रोकिएको सुनुवाइ ४ महिनापछि हुन थालेको हो । अन्तिमपटक संवैधानिक इजलासले केपी शर्मा ओलीले गरेको ५२ संवैधानिक निकायको नियुक्तिविरुद्धको रिटमा लिखित जवाफ माग गर्ने आदेश गरेको थियो ।
केपी शर्मा ओली सरकारले गरेको विघटन बदर गरेपछि संवैधानिक इजलास धेरै विवादित भएको थियो भने प्रधानन्यायाधीश राणा पनि एकपछि अर्को विवादमा परेका थिए । चौतर्फी विरोध र विवादपछि मंसिर २ गते सर्वोच्चको फुलकोर्टले मंसिर १५ गतेदेखि गोला प्रथाद्वारा पेसी तोकेर सुनुवाइ गर्ने निर्णय ग¥यो।
यो निर्णयसँगै सर्वोच्चका न्यायाधीशहरुले प्रधानन्यायाधीश राणासँग इजलास सेयर नगर्ने निर्णय गरे। यसपछि संवैधानिक इजलास बस्ने सम्भावना समाप्त भयो। फागुन १ गते सत्तारुढ दलहरुले राणाविरुद्ध महाभियोग दर्ता गरेपछि उनी निलम्बन भए।
सर्वोच्चको नेतृत्वमा (कामु प्रधानन्यायाधीश) वरिष्ठ न्यायाधीश दीपककुमार कार्की आए । उनले कामु प्रधानन्यायाधीशको जिम्मेवारी लिएपछि पहिलोपटक संवैधानिक इजलासको नेतृत्व गर्न लागेका हुन् ।
कामु प्रधानन्यायाधीश कार्कीले संवैधानिक इजलासमा पेसी तोक्न मुद्दा फाँटमा निर्देशन दिएसँगै संवैधानिक प्रश्नसँग जोडिएका ४ सयभन्दा धेरै मुद्दा सुनुवाइमा जानेछन् । क्यासिनोको रोयल्टी विवाददेखि सभामुख अग्नि सापकोटाको मुद्दा समेत अलपत्र छ ।
संघीय र प्रदेश, प्रदेश र प्रदेश तथा प्रदेश र स्थानीय तहबीच अधिकारको विषयमा र संवैधानिक व्याख्याको विषयमा फैसला गर्न संवैधानिक इजलास गठन भएको थियो ।