काठमाडौं । कर्णालीमा हाल तीन सयभन्दा बढी वडा स्वास्थ्यसंस्थाविहीन रहेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ । अधिकांश वडामा स्वास्थ्य संस्था नै नहुँदा क्वारेन्टाइन स्थापना हुन नसकेको मन्त्रालयको भनाई छ ।
हाल डोल्पाका ४१, सल्यानका ३५, सुर्खेतका २०, मुगुमा १५, हुम्ला १९, कालिकोटमा ३७, दैलेखमा २८, जुम्लामा ३१ वडामा स्वास्थ्य संस्था नरहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
स्वास्थ्यसंस्था र स्वास्थ्यकर्मी नै नहुँदा क्वारेन्टाइन स्थापना गर्न र बाहिरबाट आएकालाई राख्न समस्या भएको छ । मन्त्रालयका अनुसार कर्णालीका दुर्गम जिल्लामा रहेका अधिकांश वडामा स्यस्तो समस्या रहेको छ ।
हिमाली जिल्ला डोल्पाको सेफोक्सुण्डो गाउँपालिकामा ९ वडा मध्ये चारवटा वडामा स्वास्थ्यसंस्था छैन । स्वास्थ्यकर्मी र स्वास्थ्यसंस्था नै नभएपछि यो गाउँपालिकाले हालसम्म क्वारेन्टाइन नै स्थापना गर्न नसकेको गाउँपालिकाका प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताउनुभयो ।
डोल्पाकै डोल्पोबुद्ध गाउँपालिकामाको ४ वटा वडामापनि यस्तै समस्या रहेको छ भने गाउँपालिकासँग एउटा पनि ज्वरो नाप्न प्रयोग हुने थर्मल नरहेको गाँउपालिकाले जनाएको छ । कर्णालीका जाजरकोट, कालिकोट, मुगु र जुम्लामा यस्तै समस्या छ ।