काठमाडौं । आजबाट नँया बर्ष अर्थात विक्रम संवत २०७७ सुरु भएको छ । सामान्यतया नयाँ बर्षको पहिलो दिन बैशाख १ गते एकआपसमा शुभकामना आदानप्रदान गर्दै मनाउने गरिन्छ ।
आज हरेक व्यक्तीले असफलता दोहरिन नदिने र सफलता पाउन नयाँ योजनाको सङ्कल्प गर्दछन् । यस अवसरमा आज बिहानै स्नान गर्ने, घर–आँगन सफा गर्ने, देवदेवीको दर्शन गर्न मन्दिर जाने, मीठोमीठो खाने गरिन्छ ।
इष्टमित्रहरुसँग भेटेर रमाइलो गर्ने परम्परा भएपनि यसपाली कोभिड १९ का कारण लागु गरिएको लकडाउनका कारण त्यो सम्भव भने छैन । घरमै बसेर सुरक्षित साथ नँया बर्षको शुभकामना आदानप्रदान भने गर्न सकिन्छ ।
इतिहासकार प्राडा दीनेशराज पन्त मल्लकालदेखि नेपालमा मौलिक संवतका रुपमा विसं चलेको बताउनुहुन्छ । विसं १३५ देखि शक संवत, विसं ६३३ देखि मानदेव संवत, विसं ९३६ देखि नेपाल संवत चलेको जानकारीसमेत उहाँले दिनुभयो ।
यी संवतमध्ये अहिले मानदेव संवतको चलन हराइसकेको छ । विक्रमको १२ औँ शताब्दीमा गुजरातबाट आएका विद्वानले किताब सार्दा पहिलोपटक विसंको प्रयोग गरेको लिखित दस्तावेज फेला परेको पनि इतिहासकार पन्तले बताउनुभयो ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम विसं शास्त्रीय संवत भएको बताउनुहुन्छ । राजा विक्रमादित्यले चलाएको संवत् भएकाले यो संवत्लाई विक्रम संवत् भनिएको तर्क पनि एकथरिले गर्ने गरेका छन् ।