काठमाडौं । ‘सम्पदा नेपालको आफ्नो मौलिक पहिचान हो । लेख्ने क्रममा लेख्दै जाँदा सम्पदा क्षेत्रमा नै भिज्न मन लाग्यो । सम्पदामा मैले गति पाएँ, पहिचान पाएँ, मौलिकता पाएँ साथै प्रेमरस पाएँ ।’
सम्पदा र सँस्कृतिका अनुसन्धानकर्ता तथा अध्येता रत्न सायमीले आफ्नो पछिल्लो पुस्तक ‘सम्पदा संग्रह’मा लेखेका छन्,‘भौतिक विकासले मानव समाजलाई आधुनिकतातर्फ तानिरहेतापनि हामी हाम्रो मौलिकता गुमाउन चाहँदैनौं । यो हाम्रो पुर्खाले दिएको ज्ञान हो । आधुनिकताको आनन्द क्षणिक हो भने हामीभित्र रहेको प्राकृतिक श्रोतबाट पाइने उर्जाले सदा आनन्द दिइरहन्छ ।’
आधुनिक विकासका संरचना निर्माण गर्ने क्रममा प्राकृतिक श्रोत र साधनहरुको दोहन भइरहेका बेला यसको महत्व र गरिमालाई हामीले बुझ्न सकिरहेका छैनौं । विकासका पूर्वाधार तयार गर्दा प्राकृतिक श्रोत र साधनलाई कसरी संरक्षण गर्ने भन्नेमा यथेष्ट चासो र सरोकार भएको पाइँदैन । यस अवस्थामा हाम्रो प्रकृति, सँस्कृति र सम्पदाको रक्षाका निम्ति सबैले ध्यान दिनुपर्ने पनि उत्तिकै आवश्यक देखिन्छ । रत्न सायमीको पछिल्लो पुस्तक ‘सम्पदा संग्रह’ले यो अभीष्ट पूरा गर्न सघाउ पुगोस् भन्ने धेय राखेको पाइन्छ । पुस्तकमा धार्मिक आस्थामा विभिन्न देवदेवीमा भएका शक्तिको महिमा र त्यसको प्रभावका बारेमा चर्चा गरिएको छ भने ऐतिहासिक र धार्मिक महत्वका सम्पदाको अहिलेको अवस्थाका बारेमा समेत सजिव चित्रण गरिएको छ ।
लेखक सायमीले काठमाडौं, भक्तपुर, ललितपुर, पाल्पा, चितवन, सिन्धुली, दोलखा, पर्सा, काभ्रेपलाञ्चोक, मकवानपुर, सुनसरी, धनकुटा लगायतका विभिन्न धार्मिक स्थलको भ्रमण गरी त्यहाँको यथार्थ स्थितिको अनुसन्धान गरेर पुस्तक तयार गरेका छन् । हिन्दू धर्मावलम्बीहरुका आस्थाका केन्द्र महादेवका १३ वटा, अष्टमातृकाहरु, बालकुमारी मन्दिर, महालक्ष्मी, उग्रचण्डी, लोकेश्वर, भैरवनाथ, दुर्गा, भीमसेन, नारायण मन्दिरहरु लगायत चर्चामा नआएको गुँला पर्वका बारेमा समेत पुस्तकका विस्तृत अध्ययन गर्न सकिन्छ ।
पुस्तकले नेपालका विभिन्न ६६ वटा धार्मिक स्थलको परिचयमात्र दिएको छैन, बरु त्यसको महिमा, भौगोलिक अवस्थिति, ऐतिहासिक र पुरातात्विक महत्वलाई सहज ढंगले वर्णन गरेको छ ।
सँस्कृति र सम्पदाका बारेमा अध्ययन गर्न चाहने र हाम्रो मौलिक पहिचानका बारेमा बुझ्न चाहनेहरुका निम्ति रत्न सायमीद्वारा लिखित पुस्तक ‘सम्पदा संग्रह’ अत्यन्त उपयोगी देखिन्छ ।
भक्तपुर सूर्यविनायक नगरपालिका वडा नम्बर ४ मा विक्रम सम्बत् २०२४ सालमा जन्मिएका सायमीका यसअघि चरखण्डी (चखुँतीर्थ) बिस्केट जात्रा, भुवनेश्वरी भगवती मन्दिर एक अध्ययन नामक पुस्तक प्रकाशित भइसकेका छन् ।