काठमाडौं । राप्रपा परित्याग गरेका कमल थापाले नयाँ पार्टीको घोषणा फागुन ७ गते गर्ने भएका छन् । थापाले राप्रपा नेपालको घोषणा सभा २०७८ साल फागुन ७ गते काठमाडौँमा हुने जानकारी दिए ।
एक विज्ञप्ति जारी गर्दै ‘राप्रपा नेपाल’ नामको पार्टी ब्युँत्याउने जनाइएको छ ।
‘देशको धरातलीय यथार्थ एवं सहयोगी तथा शुभचिन्तक साथीहरूको सुझावलाई मध्यनजर राख्दै हामीले राप्रपा नेपाललाई पुनर्जागृत गर्ने निर्णय गरेका छौँ । केही समयको अलमल पछि फेरि हामी आफ्नो घर फर्केका छौँ,’ उनले विज्ञप्तिमा भनेका छन् ।
राप्रपा नेपाल २०६३ सालको राजनीतिक परिवर्तन पछि अलग पहिचान, फरक विचार र वैकल्पिक मार्गचित्र बोकेर नेपालको राष्ट्रिय राजनीतिमा उदाएको राष्ट्रवादी प्रजातान्त्रिक शक्ति भएको थापाको जिकिर छ ।
‘नेपाली जनताको विश्वास जितेर छोटो समयमा नै राप्रपा नेपाल देशको भरपर्दो शक्ति बन्न सफल भयो,’ उनले भनेका छन्, ‘तर, २०७३ सालदेखि हामीले बाटो बिरायौँ । पार्टी ठुलो बनाउने नाममा अति महत्त्वाकांक्षा र सत्ता केन्द्रित रनभुल्लमा प¥यौ ।
गम्भीर राजनीतिक भुलका शृङ्खलाहरु सुरु भए । असहज र गलत प्रवृतिहरुसँग सम्झौता गर्न थाल्यौँ । फलस्वरूप हामी करिब पाँच वर्ष राष्ट्रिय राजनीतिमा करिब करिब निष्क्रिय, प्रभावविहीन हुन पुग्यौँ ।’
अबदेखि “हिन्दुराष्ट्र, सुशासन र समृद्धि” राप्रपा नेपालको मूल एजेण्डा हुने उनले जानकारी दिएका छन् । आगामी स्थानीय तहको निर्वाचनमा हामी सक्रियताका साथ सहभागी हुने पनि उनको भनाइ छ ।