काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई नेतृत्वको मन्त्रीमण्डल १४ सदस्यीय बनेको छ । आइतबार आज थप आठजना मन्त्री नियुक्त भएपछि मन्त्रिपरिषद् सदस्यको संख्या १४ पुगेको हो ।
जसमा १३ मन्त्री र एक राज्यमन्त्री छन् । मन्त्रिपरिषदमा आइतबार नेपाली कांग्रेसबाट तीन, नेकपा एकीकृत समाजवादी पार्टीबाट तीन र माओवादी केन्द्रबाट दुईजना थप भएका छन् ।
प्रदेश १ को मन्त्रिमण्डलमा नेपाली कांग्रेसबाट मोरङका शेखरचन्द्र थापा, झापाका ओमप्रकाश सरावगी र ताप्लेजुङका प्रतापप्रकाश हाङमाङ नियुक्त भएका छन् । थापाले वन, वातावरण तथा भूसंरक्षण मन्त्रालय, सरावगीलाई उद्योग, श्रम तथा रोजगार मन्त्रालय र हाङ्गामलाई भूमि तथा सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
नेकपा एकीकृत समाजवादीबाट मोरङका उपेन्द्र घिमिरे, खोटाङका राजन राई र इलामकी खिनु लङ्वा लिम्बू मन्त्री बन्नु भएको छ । राई सामाजिक विकास मन्त्री बनेका छन् । हाल कायम रहेका सामाजिक विकास मन्त्री जयराम यादव स्वास्थ्य मन्त्री बनेका छन् ।
लिम्बू पर्यटन तथा संस्कृति मन्त्री बनेकी छन् । घिमिरेले यातायात व्यवस्था तथा सञ्चार मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
नेकपा माओवादी केन्द्रबाट खोटाङका रामकुमार राई र झापाका झलकसिंह दर्लामी मगर मन्त्री नियुक्त भएका छन् । राईले खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्रालय र दर्लामीलाई कृषि मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो र आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की यथावत छनु् । जयराम यादवलाई स्वास्थ्य मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्री रहेका हिमाल कार्कीलाई सडक, पूर्वाधार तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी नेतृ विष्णुमाया तुम्बाहाम्फे सामाजिक विकास राज्यमन्त्री नै रहेका छन् ।