काठमाडौं । चीनबाट साढे १२ टन स्वास्थ्य सामाग्री लिएर आएको नेपाल वायुसेवा निगमको जहाज आज विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको छ । चीनले दिएका विभिन्न १९ थरी स्वास्थ्य सामग्रीको पहिलो लट लिएर एयर बस ए ३३० जहाज बिहान साढे ५ बजे आइपुगेको पर्यटन मन्त्री योगेश भट्टराईले जानकारी दिनुभयो ।
चीनको ग्वान्जओबाट सरकारले माग गरेका १२.६६ टन अत्यावश्यक औषधि र अन्य स्वास्थ्य उपकरण नेपाल आइपुगेको हो । जसमा २० हजार थान पर्सनल प्रोटेक्टिभ इक्विपमेण्ट, २० हजार थान एन ९५ मास्क, १०० थान पोर्टेबल भेन्टिलेटर रहेका छन् ।
त्यसैगरी, मोनिटर—२,००० थान, एबिजी मेसिन—२० थान, भाइरल डिटेक्टिङ पिसिआर मेसिन—२० थान, अक्सिजन प्लान्ट र ५ थान रिएजेन्ट फर कोरोना भाइरस आइडेन्टिफिकेसन रहेका छन् । त्यसैगरि १०,००० थान इन्ट्युवेटिङ सेट, २,००० थान इन्फेक्सस डिजिज मोबाइल एम्बुलेन्स, ७ थान सिआरआरटी मेसिन, २० थान पिसिआर किट्स र २,००० थान थर्मल थर्मो्मिटर रहेका छन् ।
अब ती सबै सामाग्रीहरु सेनाको हेलिकोप्टरबाट सात वटै प्रदेशमा वितरण गरिने भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार आज बाटै सेनाको हेलिकोप्टरले ती सामाग्री ओसार्न सुरु गर्ने छन् ।