काठमाडौं । देशभर भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी १७ जनाले ज्यान गुमाएका छन् । नेपाल प्रहरीका अनुसार प्युठान, सुनसरी, सिरहा, रुपन्देही, स्याङजा र धादिङका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी १७ जनाले ज्यान गुमाएका हुन् ।
प्युठानको गौमुखी गाउँपालिका–६ ओखरपाटा भन्ने स्थानमा विवाहको दुलही लिएर फर्कदै गरेको ग.१ ज ५०९२ नम्बरको जिप सडकबाट १ सय ५० मिटर तल खसेर गएराति दुर्घटना हुँदा जिपमा सवार ८ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा ६ जनाको घटनास्थलमै र २ जनाको जिल्ला अस्पताल विजुवारमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका जिपमा सवार अन्य ५ जनामध्ये २ जनाको जिल्ला अस्पताल विजुवारमा उपचार भइरहेको छ भने ३ जनालाई थप उपचारको लागि बुटवल रिफर गरिएको छ ।
यता सुनसरीको ईनरुवा नगरपालिका–४ स्थित सडकमा प्रदेश १–०२–००२ च ४७८३ नम्बरको पिकअप भ्यानको ठक्करबाट साईकलयात्री गढी गाउँपालिका–६ बस्ने ४० वर्षीया बासोदेबी उराउको शुक्रबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा मृत्यु भएको हो ।
हाल फरार भ्यानका चालकको प्रहरीले खोजी गरिरहेको छ । सुनसरीकै भोक्राहा नरसिहं गाउँपालिका–३ खुनिया पुलस्थित सडकमा ना.८ ख ८४९३ नम्बरको बस र ना.२ ख २९९६ नम्बरको ट्रक शुक्रबार राति एकआपसमा ठक्कर खाई आगलागी समेत हुँदा ३ जनाको जलेर मृत्यु भएको छ ।
साथै दुर्घटनामा घाइते भएका २७ जनाको सुनसरी र विराटनगरको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै सिरहाको गोलबजार नगरपालिका–४ स्थित सडकमा ना.१ ज ५९१२ नम्बरको गाडीको ठक्करबाट मिर्चैया नगरपालिका–६ बस्ने ४५ वर्षीय ब्रह्मदेव ठाकुरको शुक्रबार राति मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको लागि राउ अस्पताल लहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका–९ स्थित सडकमा लु.३७ प ६३५१ नम्बरको स्कुटर आफै अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा स्कुटर चालक सोही नगरपालिका–१५ कोटिहवा बस्ने २४ वर्षीय सुशान्त बस्यालको मृत्यु भएको छ ।
स्याङजाको विरुवा गाउँपालिका–३ धोवादीस्थित भित्री सडकमा विरूवाबाट खालीतर्फ जाँदै गरेको ग.१ ज ५९३९ नम्बरको जिप सडकदेखि अन्दाजी ५ सय मिटर तल खसेर शनिबार बिहान दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा जिपका चालक विरुवा गाउँपालिका–३ खाली बस्ने २६ वर्षीय बेल बहादुर थापा र जिपमा सवार सोही ठाउँ बस्ने ३२ वर्षीय भेष बहादुर थापा रहेका छन् ।
धादिङको धुनिबेशी नगरपालिका–१ बन्चरेस्थित सडकमा प्र.३–०१–००३ क ७२५५ नम्बरको जेसिबी आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ४० मिटर तल खोल्सामा खसेर शनिबार आज दिउँसो दुर्घटना हुँदा जेसिबीमा सवार हाल नाम, थर, वतन नखुलेका १ जना पुरुषको घटनास्थल्मै मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका अन्य २ जनालाई उपचारको लागि बीर अस्पताल काठमाडौं ल्याइएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।