काठमाडौं । बंगलादेशमा आयोजना भएको एसियन सिनियर सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपको उपाधि विजेता नेपाली महिला भलिबल टोलीलाई सरकारले नगदसहित पुरस्कृत गरेको छ । प्रधानन्त्रीनिवास बालुवाटारमा शुक्रबार(आज) प्रधानमन्त्री शेरबहादुर देउवाले विजेता महिला भलिबल टोलीलाई नगदसहित पुरस्कृत गरेका हुन् ।
प्रधानमन्त्री देउवाले उपाधि विजेता टोलीका १२ जना खेलाडीलाई जनही ५÷५ लाख प्रदान गरे । यस्तै, २ जना प्रशिक्षकलाई जनही ३ लाख र १ जना अफिसियललाई २ लाख नगदले पुरस्कृत गरेको छ ।
गत पौषमा उज्वेकिस्तानलाई ३–२ को सेटमा हराउँदै नेपालको महिला टिम च्याम्पियन बनेको थियो । नेपाल लगातार दोस्रोपटक च्याम्पियन बनेको हो ।
टोलीमा खेलाडीहरु अरुणा शाही (कप्तान), मनिषाकुमारी चौधरी, कामना विष्ट, लक्ष्मी चन्द, उषा भण्डारी, प्रतिमा माली, सलिना श्रेष्ठ, सरस्वती चौधरी, सुनिता खड्का, सफिया पुन, कृपा अधिकारी र शान्तिकुमारी थारु थिए ।
यस्तै, टोलीमा प्रमुख प्रशिक्षक जगदीशप्रसाद भट्ट र प्रशिक्षक भरत यादव तथा व्यवस्थापक ज्योति केसी रहेका थिए ।