काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का नेता शेरबहादुर तामाङले सत्ता गठबन्धनले आगामी जेठभित्र स्थानीय तहको निर्वाचन गर्ने भनेर भनेपनि सरकारले निर्वाचनको मिति घोषणा नगरेसम्म विश्वास गरिहाल्ने अवस्था नभएको टिप्पणी गरेका छन् । आइतबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘सत्तापक्षीय गठबन्धनले जेठभित्र निर्वाचन सम्पन्न गने भन्ने कुरा सुन्यौं, कानूनले के भन्छ भने दलीय गठबन्धनले गरेर निर्णय गरेर हुँदैन । सरकारको मन्त्रिपरिषदले घोषणा गर्नुपर्छ । मन्त्रिपरिषदले निर्णय गरेको छैन । त्यसैले अहिले नै हामी उत्साही हुने अवस्था छैन् । यो सरकार निर्वाचन नगर्ने तर्फ नै उद्धत छ । अहिले पनि कानून संशोधन गर्ने कुरा गठबन्धनले गरेको छ । संविधान र स्थानीय तह ऐनमा कहीँकतै द्विविधा छैन ।’
सत्तापक्षीय गठबन्धनले संविधान र स्थानीय तह निर्वाचनसम्बन्धी ऐन बाझिएको भनेर गलत तर्क गरेको पनि उनको आरोप छ । उनले भने, ‘संविधानको धारा २२५ ले स्पष्ट पारेको छ । सरकार पक्षले गलत व्याख्या गरेको छ । वैशाखभित्रै निर्वाचन गर्नुपर्ने थियो । अहिले उहाँहरुले जेठमा गर्ने कुरा गर्नुभएको छ ।
अब जेठमा नगरेर असोजको कुरा गर्ने पनि खतरा होला । हामी भन्छौं कि वैशाखभित्रै निर्वाचन हुनुपर्छ । सरकारले मिति घोषणा गर्नुपर्छ । सरकारको नेतृत्व काँग्रेसले गरेको छ । गठबन्धनको नाममा काँग्रेसले निर्वाचन सार्ने काम नगरोस् । वैशाखभित्रै निर्वाचन गर्नुपर्छ ।’
सत्तापक्षीय गठबन्धन अझैपनि निर्वाचनको विषयमा शंकाको घेरामा रहेको उनको भनाई छ । उनले भने, ‘गठबन्धनको निर्णयले निर्वाचनको तिथि घोषणा हुँदैन । त्यसैले क्याविनेटले मिति घोषणा गर्नुपर्छ । संसद् चल्न नदिएको होइन, अहिलेको गबठन्धनले नै सार्दै सार्दै आएको छ । सत्तापक्षीय र प्रतिपक्षीबीच वार्ता हुनुपर्छ । हामी सधैं यसको लागि तयार छौं ।’