काठमाडौं । सरकारले वैदेशिक रोजगारीका समस्या तत्काल सम्बोधन हुने गरी ’कल सेन्टर’ स्थापना गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आइतवार सिंहदरबारको आफ्नै मन्त्रालयको प्राङ्गणमा सेवाग्राहीको गुनासो सुन्दै कल सेन्टरको शुभारम्भ गरेका हुन् ।
कल सेन्टरमा सेवाग्राहीहरूको गुनासो तत्काल सुन्नका लागि ११४१ अर्थात् १६६००१५०००५ निःशुल्क टेलिफोनको व्यवस्था गरिएको छ भने अबििअभलतभच२ाभद.नयख।लउ इमेलको पनि व्यवस्था गरिएको छ ।
नेपाल वैदेशिक रोजगार बोर्डको कार्यालयमा भएको कल सेन्टरले प्रभावकारी ढङ्गले काम गर्न नसकेको पाइएपछि मन्त्रालय आफैँले कल सेन्टर स्थापना गर्नुपरेको मन्त्री श्रेष्ठले बताए । उनले कल सेन्टरमा गुनासो आउनेबित्तिकै तत्काल सम्बोधन गर्ने प्रतिबद्धता पनि जनाए ।
मन्त्री श्रेष्ठले झन्डै एक महिनायता भिजिट भिसामा गएकाहरूलाई बिचौलियाहरूले ठगी गरी विभिन्न देशमा अलपत्र पारेपछि ती समस्या तत्काल समाधान हुने गरी काम गर्न पनि कल सेन्टरको आवश्यकता महसुस गरिएको स्पष्ट पारे ।
त्यस अवसरमा मन्त्री श्रेष्ठले वैदेशिक रोजगारमा गएकाहरूबाट ठगी गरिएको, असुल गरिएको रकम तत्काल फिर्ता दिन पनि बिचौलियाहरूलाई अपिल गरे । उनले त्यस काममा सहयोगी भूमिका निर्वाह गर्न सञ्चारमाध्यमलाई आग्रह गरे ।
६ जना कर्मचारीले कल सेन्टरबाट २४ सै घण्टा सेवा दिनेछन् । मन्त्रालयका सचिव एकनारायण अर्यालले वैदेशिक रोजगारीमा गएकाहरूको गुनासो सुनुवाइ गरी तत्काल समाधान गर्नका लागि आवश्यक सुझाव दिन पनि सम्बन्धित सबै पक्षलाई आह्वान गरे ।
उनले यो कल सेन्टरले वैदेशिक रोजगारको क्षेत्रमा देखिएका विकृतिलाई न्यूनीकरण गर्दै लैजाने विश्वाससमेत व्यक्त गुरे । यो कल सेन्टरमा वैदेशिक रोजगारीमा गएकाहरूको गुनासो वा पीडा तत्काल सम्बोधन गर्न प्रहरीको टोली पनि परिचालन गर्ने व्यवस्था गरिएको छ ।