काठमाडाै । डडेल्धुरा र डोटीलाई जोड्ने राजमार्गमा हिजोसाँझ भएको स्कुलबस दुर्घटनामा मृत्युृ भएका १८ जनाको सनाखत भएको छ । दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा डोटीको शिखर नगरपालिकाका २२ वर्षीय योगेन्द्र बोहरा,२४ वर्षीय शंकर जोरा,२२ वर्षीय शारदा रावत, रोहित बलायर, सिलगढी नगरपालिकाकी ३५ वर्षीया शशी विक, शिखर नगरपालिकाकी २५ वर्षीया गोदा भाट,४० वर्षीय कैलाश रावल, १५ वर्षीय सागर बलायर,२४ वर्षीय पदम विक र योगेन्द्र रावल रहेका छन् । त्यस्तै ज्यान गुमाउनेमा डडेल्धुराको नवदुर्गा गाउपालिकाका २२ वर्षीय चक्र धामी, गन्यापधुरा गाउँपालिकाकी ३० वर्षीया माया रावल,नवदुर्गा गाउँपालिकाका १७ वर्षीय तिलक खाती,३० वर्षीय तेज धामी रहेका छन् ।
यसैगरि ज्यान गुमाउनेमा कैलाली गोदावरी नगरपालिकाका २१ वर्षीय केशब कडायत,२० वर्षीया शारदा कडायत,धनगढी उप–महानगरपालिकाका २८ वर्षीय नारायण चौधरी, गोदावरी नगरपालिकाका पुरन कठायत रहेका छन् । ज्यान गुमाएकाहरुको पोष्टमाटम डडेल्धुरामा रहेको उप क्षेत्रीय अस्पतालमा गर्ने तयारी भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक खगेन्द्र साउदले जानकारी दिनुभयो ।
घाईतेहरुको डडेल्धुरा अस्पताल र कैलालीको सेती अञ्चल अस्पतालमा उपचार भईरहेको छ । डडेल्धुरा–डोटी जोड्ने डाक्टर केआईसिंह राजमार्गको रडुवा खोलामा फर्कनेक्रममा पिसजोन एकेडेमीको से १ क २९३ नम्बरको बस हिजोसाँझ दुर्घटनामा परेको थियो ।
यसैबीच दुर्घटनाका घाइतेको सम्पूर्ण उपचार खर्च सुदूरपश्चिम प्रदेश सरकारले व्यहोर्ने भएको छ । घाइतेहरुलाई भेट्न आज बिहान सेती अञ्चल अस्पताल र माया मेट्रो अस्पताल पुग्नुभएका मुख्यमन्त्री त्रिलोचन भट्टले सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने घोषणा गर्नुभएको छ ।