काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले कप्तान सन्दीप लामिछाने, पूर्व कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्र सिंह ऐरीसहित ५ खेलाडीलाई सन् २०२२ को केन्द्रीय सम्झौतामा ग्रेड ‘ए’ मा अनुबन्ध गरेको छ । क्यानको रुपन्द्रेहीमा हिजो बसेको बैठकले लामिछाने, मल्ल, ऐरी, सोमपाल कामी र करण केसीलाई ग्रेड ‘ए’ मा अनुबन्ध गर्ने निर्णय गरेको हो ।
त्यस्तै ग्रेड ‘बी’ मा कुशल भुर्तेल, आसिफ सेख, शरद भेषवाकर, आरिफ शेख, अविनाश बोहरा र विनोद भण्डारी रहेका छन् । त्यसैगरी ग्रेड ‘सी’ मा कुशल मल्ल, रोहित कुमार पौडेल, कमल सिंह ऐरी, विक्रम सोव, साहब आलम, सुशन भारी र पवन सर्राफ रहेका छन् ।
क्यानले मल्ल, ऐरी, कामी र कमल सिंहलाई सन् २०२२ को केन्द्रीय सम्झौतामा नराख्ने यसअघिको निर्णय फिर्ता लिएको छ । ओमान भ्रमणमा रहेका तर अनुबन्ध नरहेका खेलाडी विक्रम सोव, गुलसन झा र रोहित पौडेललाई प्रोत्साहन भत्ता स्वरूप जनही एक लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
साथै क्यानले आउँदो फागुन १३ र १४ मा धनगढीमा वार्षिक साधारण सभा गर्ने निर्णय पनि गरेको छ ।