काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवलाई बर्खास्त गर्न उनकै गृह जिल्ला सप्तरीबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको छ। सप्तरी निवासी संविधानसभा सदस्य रञ्जित कर्णले हिंसात्मक अभिव्यक्ति दिएको भन्दै मन्त्री यादवलाई बर्खास्त गर्न प्रमुख जिल्ला अधिकारी जनार्दन गौतममार्फत प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र पठाएका हुन्।
मन्त्री यादवको अभिव्यक्ति मानव अधिकारको दृष्टिकोणले नेपाल सरकारको अन्तर्राष्ट्रिय मानव अधिकारसम्बन्धी मान्यताको खिल्ली उडाएको भन्दै बर्खास्त गरेर कारबाही प्रक्रिया अगाडि बढाउन ज्ञापनपत्रमा माग गरिएको छ।
‘तत्कालीन मधेसी जनअधिकार फोरम नेपालले २०६३ को गौर घटना भवितव्य हो, नियोजित होइन भन्दै आएको वर्तमान जसपा अध्यक्ष उपेन्द्र यादवलाई गलत साबित गर्दै गर्वका साथ पुनः यस्ता घटना घटाउने र त्यसमा तपाईं मारिनसक्ने अभिव्यक्तिलाई नेपालको संविधानले अपराधि देख्ने भएको हुँदा तत्काल मन्त्री पदबाट बर्खास्त गर्दै कानुनबमोजिम कार्यबाहीको प्रक्रिया अगाडि बढाउन सम्मानीय प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष सादर अनुरोध गर्दछु,’ कर्णले बुझाएको ज्ञापन पत्रमा भनिएको छ।
राजनीतिमा अपराधको ठाउँ नहुनेमा विश्वास गर्ने भएकाले आफ्नो जिम्मेवारी र जनताप्रतिको दायित्वबोध गर्दै गैरराजनीतिक अभिव्यक्ति दिने मन्त्रीलाई कारबाहीको माग गर्दै ज्ञापन पत्र बुझाएको कर्णले बताएका छन्।
प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका उनले मन्त्री यादवलाई कारबाही गर्न जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी पनि दिएका छन्। उनले हुलाकमार्फत् जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी पठाएका हुन्। साम्प्रदायिक द्वन्द्व फैलाउनेगरी अभिव्यक्ति दिएको भन्दै सभासद कर्णले मन्त्री यादवलाई कानुनअनुसार कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दिएका छन्।
माघ ५ गते रौतहटमा आयोजित बलिदानी दिवस कार्यक्रममा सम्बोधन गर्दै मन्त्री यादवले जनमत पार्टीका प्रमुख सिके राउतलाई इंगित गर्दै गौर घटना दोहोर्याइदिने चेतावनी दिएकी थिइन्। उनको त्यो अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेको छ।