काठमाडौं। काठमाडौं जिल्ला नेपालका ७७ वटै जिल्लाहरूमध्ये सबैभन्दा धेरै जनसंख्या भएको जिल्लामा परेको छ। नेपालको जनगणना २०७८ अनुसार काठमाडौंको जनसंख्या २० लाख १७ हजार ५३२ रहेको छ।
त्यस्तै सबैभन्दा कम जनसंख्या रहेको मनाङ जिल्लाको जनसंख्या ५ हजार ६४५ रहेको छ । धेरै जनसंख्या भएका जिल्लाहरुमा मोरङ, रुपन्देही, झापा र सुनसरी जिल्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं जिल्लामा रहेका छन् भने कम जनसंख्या भएका जिल्लाहरूमा मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थानमा परेका छन्।
सबैभन्दा धेरै जनसंख्या भएका ५ नगरपालिकाहरुमा क्रमशः काठमाडौं, पोखरा, भरतपुर, ललितपुर र विरगञ्ज नगरपालिका परेका छन् भने सबैभन्दा कम जनसंख्या भएका ५ नगरपालिकाहरुमा क्रमशः ठुलीभेरी नगरपालिका, त्रिपुरासुन्दरी नगरपालिका, मादी नगरपालिका, लालिगुराँस नगरपालिका र जिरी नगरपालिका रहेको तथ्यांक विभागले जनाएको छ ।
धेरै जनसंख्या भएको काठमाडौं नगरपालिकाको जनसंख्या ८ लाख ६५ हजार ९०६ रहेको छ भने कम जनसंख्या रहेको ठुलिभेरी नगरपालिकामा १० हजार १८७ रहेको छ । २० हजारभन्दा कम जनसंख्या हुने नगरपालिकाको संख्या १४ वटा रहेको छ भने १ लाखभन्दा बढी जनसंख्या हुने नगरपालिकाको संख्या ३९ वटा रहेको बताइएको छ ।
नेपालको जनघनत्व १९८ जना प्रतिवर्गकिलोमिटर पुगेको केन्द्रीय तथ्यांक विभागले जानकारी दिएको छ ।