काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकाका अस्पतालहरुलाई ८८ हजार ट्याब्लेट सिटामोल वितरण गरेको छ । १६ अस्पतालमा पाँच सय एमजीका पारा सिटामोलका ट्याब्लेट वितरण गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले त्रिवि शिक्षण अस्पतालसहित पाटन अस्पताल,शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु र विर अस्पताललाई १०/१० हजारका दरले सिटामोल वितरण गरेको छ । यस्तै राष्ट्रिय ट्रमा सेन्टर र सशस्त्र प्रहरी बल अस्पताल बलम्बुलाई ६÷६ हजार सिटामोल वितरण गरिएको छ ।
त्यस्तै निजामती अस्पताल नयाँबानेश्वर,नेपाल प्रहरी अस्पताल महाराजगन्ज,वीरेन्द्र सैनिक अस्पताल छाउनी,भक्तपुर अस्पताल र प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीलाई ५/५ हजार सिटामोल वितरण गरिएको छ ।
त्यस्तै गंगालाल हृदयरोग केन्द्रलाई २ हजार,भक्तपुर क्यान्सर अस्पताललाई २ हजार, मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरलाई २ हजार,आयुर्वेद अस्पताल नरदेवीलाई २ हजार र राष्ट्रिय आयुर्वेद तालिम तथा रिचर्स केन्द्र कीिर्तपुरलाई ३ हजार सिटामोल वितरण गरिएको छ ।
महामारीको समयमा बजारमा सिटामोलको अभाव भएको थियो । मंगलबार सर्वोच्च अदालतले पनि अत्यावश्यक औषधिमा पर्ने सिटामोललगायतका औषधि सहज उपलब्ध गराउन सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ ।
अधिवक्ता टीकाबहादुर कुँवरसहितले दायर गरेको रिटमाथि मंगलबार सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले सरकारको नाममा अन्तरिम आदेश जारी गरेको हो ।
नागरिकलाई सिटामोललगायतका अत्यावश्यक औषधि उपलब्ध गराउने काम सरकारको भन्दै सर्वोच्चले आवश्यक व्यवस्था मिलाउन सरकारलाई आदेश दिएको छ । देशभर सिटामोलको हाहाकार भइरहेको भन्दै रिटमा अन्तरिम आदेश माग दाबी गरिएको थियो ।