काठमाडौं । विश्वमा फैलँदै गएको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित सङ्क्रमणलाई ध्यानमा राखी सरकारले एकहप्ता लकडाउन गरेसँगै काठमाडौँ उपत्यका सुनसान बन्दै गएको छ । कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको हिँजो साँझ बसेको बैठकले कोभिड–१९ को सङ्क्रमण थप फैलन नदिन यस्तो निर्ण गरेको हो ।
सरकारले नेपालमा फ्रान्सबाट आएकी १९ वर्षीया युवतीमा सङ्क्रमण देखिएपछि सरकारले थप कडाई गर्दै आज बिहान ६ बजेदेखि चैत १८ गते साँझ ६ बजेसम्म ‘लकडाउन’ गर्ने घोषणा गरेको हो ।
‘लकडाउन’सँगै औषधि, खाद्यवस्तु खरीदजस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन नपाउने व्यवस्था गरिएको छ । यस्तै अनुमतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्नेबाहेक अन्य निजी तथा सार्वजनिक सवारी साधन आवतजावतमा पूर्ण रोक लगाइएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले सरकारले लकडाउन गरेसँगै काठमाडौँ उपत्यकाका सडकमा अत्यावश्यक र पास लिएका सवारी साधनबाहेक अन्य सवारी साधन सञ्चालन नभएको बताउनु भयो । लकडाउन उलङ्घन गरेमा ६ महिनासम्म कैद र ६ सय सम्म जरिवाना वा दुवै हुने व्यवस्था गरेको छ ।
लकडाउन संगै राजधानी काठमाडौं सहित हुला शहर पोखरा, नेपालगंज लगायतका ठाँउ सुनसुन भएको बताइएको छ । तर प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा भने यसको प्रभाव खासै नपरेको बताइएको छ ।
सर्वसाधारण मुख्य सडक र चोकहरुमा निर्वाध रुपमा आवतजावत गरिरहेका छन् । फाटफुट सवारीसाधनसमेत चलेको छन् भने अत्यावश्यक बाहेकका केही पसलहरु समेत खुला रहेको बताइएको छ ।