काठमाडौं । चावहिलको चोक र मित्र पार्क गरी २ ठाउँमा आज आकाशे पुलको शिलान्यास भएको छ ।
काठमाडौँ महानगरका मेयर विद्यासुन्दर शाक्यले र वडाध्यक्ष शुद्धकुमार डंगोलले पुलको शिलान्यास गरेका हुन् । त्यस अवसरमा प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडयाल र वडा सदस्यहरु सहभागी हुनुहुन्थ्यो । चावहिल चोकमा ३३ मिटर लम्बाई र २ मिटर चौडाईको र मित्रपार्कमा १६ मिटर लम्बाई र २ मिटर चौडाइको आकाशे पुल निर्माण हुनेछ ।
शिलान्यासपछि मेयर शाक्यले, पैदल यात्रुको भीड र दुर्घटना भइरहने ठाउँलाई प्राथमिकतामा राखेर आकाशे पुल निर्माण भइरहेको बताए । ‘काठमाडौं महानगरपालिका क्षेत्रभित्र ट्राफिक जामको समस्या धेरै छ । सडक फराकिलो भएर पनि चावहिलमा सवारीको अधिक चाप छ । आकाशे पुल निर्माण भएपछि पैदल यात्रुको यात्रा सुरक्षामा टेवा पुग्नेछ ।’
‘चावहिल चोक र रामशाह पथमा यसअघि आकाशे पुल सञ्चालनमा ल्याइसकेका छौं । जयवागेश्वरीमा निर्माणाधीन छ । चावहिल क्षेत्रमा मात्रै हामीले ४ ओटा आकाशे पुल निर्माण गर्दैछौँ । अन्य केही ठाउँका लागि प्राविधिक परीक्षण, नक्सा निर्माण र स्थानीयसँग परामर्श गरिरहेका छौँ । केही ठाउँमा प्राविधिक समस्याका कारण काम अगाडि बढाउन कठिन भएको छ । त्यस्ता ठाउँको समाधान खोज्दैछौँ । यससँगै खोला वा नदी तर्ने र वडा जोड्ने गरी पनि पैदलयात्री आकाशे पुल बनाउने योजना अघि बढाएका छौँ ।’
चावहिल क्षेत्रमा यातायात चाप व्यवस्थापन र पैदलयात्रीको सुरक्षा जटिल छ । वडा ७ का अध्यक्ष शुद्धकुमार डंगोलले, जति बेला पनि सडकमा सवारी गुडिरहनु पर्ने र यात्रुहरुलाई सडक पार गर्नुपर्ने ठाउँ छानेर आकाशे पुल निर्माण गर्नं लागिएको बताए । आकाशे पुल बनाएपछि सबैलाई हिँड्न सजिलो हुन्छ । यसमा पनि बालबालिका, जेष्ठ नागरिक र स्कूल कलेजका विद्यार्थीहरुलाई धेरै राहत हुनेछ । वडाध्यक्ष डंगोलको भनाइ छ ।
महानगरपालिकाको भौतिक पूर्वाधार विकास विभागका प्रमुख राम थापाकाअनुसार ट्रष्ट र स्टील संरचनाका आकाशेपुल निर्माण भइरहेका छन् । यी संरचनाहरु तोडफोड नगरी अन्य ठाउँमा लगेर जडान गर्न मिल्ने खालका छन् ।
इञ्जिनियर प्रेमबहादुर श्रेष्ठकाअनुसार चावहिल र मित्रपार्कमा निर्माण हुने २ वटा आकाशे पुलको लागत भ्याटसहित १ करोड ३० लाख ४२ हजार रुपैयाँ हो ।