काठमाडौं । जोर–बिजोर प्रणाली लागु गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा थप कडाइ गरेको छ । कोरोनाभाइरसको जोखिम न्यूनीकरणका लागि भन्दै उपत्यकाका तीनै प्रशासन कार्यालयले शनिबारदेखि जोर–बिजोर प्रणाली लागू गरेका छन् ।
महाशाखाले जोर–बिजोर प्रणालीको पूर्णपालना गराउन विभिन्न ठाउँमा चेकप्वाइन्टहरू राखी थप कडाइ गरिरहेको छ । स्वास्थ्य मापदण्ड पालना गर्न, अनिवार्य मास्कको प्रयोग गर्न, भिडभाड नगर्न, अत्यावश्यक सेवा र कामबाहेक सवारी साधन नचलाउन र सर्बसाधारणलाई घरबाट ननिस्कन समेत महाशाखाले आग्रह गरेको छ ।
जिल्ला प्रशासनका अनुसार सार्वजनिक र निजी सवारी साधनहरू (दुई पाँग्रेसहित) जोर गते जोर र बिजोर गते बिजोर नम्बर प्रणालीमा सञ्चालन गर्नु पर्नेछ ।
औषधि एवं स्वास्थ्य सामग्री बोकेको सवारी साधन, एम्बुलेन्स, दमकल, शववाहन, ग्यास, पेट्रोलियम पदार्थ, खाद्यान्न, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, पानी, अन्डा, माछामासु, पशुपंक्षीका दाना एवं कृषि तथा पशुजन्य सामग्री बोक्ने सवारी साधनलाई नरोकिने प्रशासनले जनाएको छ ।
यद्यपि यस्ता सवारी साधनमा चालक र सहचालकमात्रै रहनुपर्ने प्रशासनले प्रष्ट्याएको छ । बैंक, बीमा, बित्तीय संस्था, वायुसेवा कम्पनी, डाक तथा कुरियर सेवा, दूर सञ्चार सेवा प्रदायक निकायका कर्मचारीहरूले परिचयपत्रको आधारमा आवतजावत गर्न पाउनेछन् ।
यसैगरी पत्रकार तथा संचारकर्मीहरूले सूचना तथा प्रसारण विभागबाट जारी प्रेस पास तथा परिचयपत्रको आधारमा आवतजावत गर्न पाउनेछन् । सरकारी सवारीसाधन र कुटनैतिक नियोगका सवारीसाधनमा भने जोर–बिजोर प्रणाली लागू नहुने प्रशासन कार्यालयले जनाएको छ ।