काठमाडौं । काठमाडौं महानगरपालिकाकाले महामारी तीव्ररूपमा बढिरहेका बेला केही निजी विद्यालय सञ्चालन भइरहेको भन्दै कारबाही गर्ने चेतावनी दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णयविपरीत महानगरपालिकाका केही निजी विद्यालय सञ्चालन भइरहेका छन् ।
कोरोना भाइरसको तेस्रो लहर तीव्ररूपमा बढिरहेको भन्दै सरकारले गत पुस २७ गतेदेखि सबै विद्यालय भौतिक उपस्थितिमा सञ्चालन नगरी वैकल्पिक माध्ययमबाट सञ्चालन गर्न निर्देशन दिएको थियो ।
सरकारले दिएको निर्देशनको बेवास्ता गरी महानगरपालिकाका वडा नं १५ र १८ का केही निजी विद्यालय सञ्चालन भइरहेका बताइएको छ । कामपा–१५ मा सञ्चालित फ्युचरस्टार बोर्डिङ स्कुलले बिहान र दिउँसो दुई समूहमा पठनपाठन गरिरहेको छ ।
त्यस्तै कामपाकै घना बस्ती रहेका अन्य केही वडामा पनि विद्यालय सञ्चालन भइरहेका जनाइएको छ । यस सन्दर्भमा महानगरपालिकाका शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले सरकारले जारी गरेको निर्देशनविपरीत सञ्चालन भएका विद्यालय तत्काल बन्द नगरे कारबाही गर्ने चेतावनी दिए ।
अहिले पनि सबै विद्यार्थीमा खोपको पहुँच पुगेको छैन । बाह्र वर्ष उमेर पुगेका विद्यार्थीले खोप लगाए पनि अझै धेरैले खोप लगाउन बाँकी छ ।
अहिले काठमाडौँ उपत्यका महामारीको केन्द्र बनेको छ । यहाँ दैनिक सात हजार सङ्क्रमित देखिन थालेका छन् ।
महामारी नियन्त्रण गर्न भन्दै लोकसेवा आयोग र त्रिभुवन विश्वविद्यालयले सञ्चालन गर्ने परीक्षासमेत स्थगन गरिसकेको अवस्था छ भने यातायातका साधनमा पनि जोर–बिजोर प्रणाली लागू गरिसकिएको छ ।
पछिल्ला केही दिनयता देशभर दैनिक १२ हजार बढी कारोना सङ्क्रमित थपिइरहेका छन्