काठमाडौं । कलाकार एवम् सामाजिक अभियन्ता सीताराम कट्टेल ’धुर्मुस’ र कुन्जना घिमिरे ’सुन्तली’ले चितवनको क्रिकेट रंगशाला निर्माणमा अनियमितता नभएको दाबी गरेका छन् ।
उनीहरुले आफूहरुविरुद्ध अख्तियारमा उजुरी परेको भोलिपल्ट एक वक्तव्य निकाल्दै दाताहरुको रकम दुरुपयोग नभएको पनि स्पष्ट पारेका छन् ।
गौतम बुद्ध क्रिकेट स्टेडियम परियोजना निर्माणमा अनियमितता भएको भन्दै आइतवार मात्रै अख्तियारमा उजुरी परेको छ ।
दुवैले धुर्मुस–सुन्तली फाउण्डेशनको नाममा एक विज्ञप्ति सार्वजनिक गर्दै त्यस परियोजनामा अनियमितता र गलत कार्यको कुनै गुञ्जायस नै नरहेको बताएका छन् ।
’सहयोगी मनहरुबाट प्राप्त रकमको दुरुपयोग हामी सोच्न पनि सक्दैनौँ’, उनीहरुले भनेका छन्, ’परियोजनामा कुनै प्रकारको अनियमितता र गलत कार्यको गुञ्जायस नरहेकोमा सबैलाई आश्वस्त पार्न चाहन्छौँ ।’
उनीहरुले रंगशाला निर्माणलाई कोरोना महामारी र अन्य समस्याले रोकेको पनि बताए ।
’त्यसका बावजुद पनि रंगशाला निर्माण निरन्तर अघि बढिरहँदा स्रोत व्यवस्थापनको पाटो चुनौतीपूर्ण बन्दै गयो । अपेक्षित जनसहयोग जुट्न सकेन’, उनीहरुले भनेका छन्, ’विगत ५ महिनादेखि निर्माण सामग्री उपलब्ध गराउन नसकेको अवस्था र विभिन्न कम्पनीलाई भुक्तानी गर्नुपर्ने बक्यौता रकम बढ्दै गएपछि निर्माण कार्य स्थगित गर्न बाध्य हुनुपर्यो ।’