काठमाडौं। कोभिड १९ संक्रमण बढेपछि सरकारले माघ १५ गतेसम्म सिनेमा हल र जिम हल बन्द गर्ने निर्णय गरेको छ । सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले दिएको जानकारीअनुसार माघ १५ सम्म सिनेमा हल र जिम हल बन्द गर्ने निर्णय भएको हो ।
सञ्चारमन्त्री कार्कीका अनुसार धार्मिक कार्य र विवाहमा ५० जनाभन्दा बढी जम्मा हुन नपाइने, सबै प्रकारका जुलुस र भेला हुने क्रियाकलाप माघ मसान्तसम्म सञ्चालन नगर्ने निर्णय गरेको छ। त्यस्तैगरी बैठक, गोष्ठी भर्चुअलरुपमा सञ्चालन गर्ने निर्णय गरेको छ ।
कुनै पनि कार्यक्रम नगरी नहुने अवस्थाको भएमा जनस्वास्थ्यका मापदण्ड पालना गरी एन्टिजेन परीक्षणपछिमात्रै गर्नुपर्ने, सिनेमा हल, डान्सबार, हेल्थक्लब, स्वीमिङ पूल, हाटबजार १५ गतेसम्म बन्द गर्ने निर्णय सरकारले गरेको छ ।
त्यस्तैगरी विद्यालय, क्याम्पस माघ १५ गतेसम्म भौतिकरुपमा उपस्थित नगर्ने निर्णय गरेको छ। मठ मन्दिर, गुम्बालगायतका जनस्वास्थ्यका पालना नित्य पूजामात्रै गर्ने गराउने, सुपरमार्केटमा एकपटकमा २५ जनाभन्दा बढी भेला हुन नपाउने निर्णय पनि गरेको छ ।
पार्टी प्यालेसमा बढीमा ५० जनामात्रै हुनुपर्ने व्यवस्था गरेको छ।