काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले भूकम्प प्रतिरोधी भवन निर्माणका लागि दक्ष जनशक्ति तयार भएको बताएका छन्।
आइतबार २४ औं भूकम्प दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
२०७२ सालको गोरखा भूकम्पपछि देशमै भूकम्प प्रतिरोधी भवन निर्माणका लागि दक्ष जनशक्ति तयार भएको उनको भनाइ छ । उनले विगतको अनुभव र पाठलाई ख्याल गर्दै दक्ष जनशक्तिको परिचालन गर्न सम्बन्धित निकायलाई अनुरोधसमेत गरे।
‘२०७२ सालको भूकम्पपछि हामीले महत्वपूर्ण अनुभव हासिल गरेका छौँ । सबैको पहलमा बलिया संरचना बनाउन सफल भएका छौँ’, प्रधानमन्त्री देउवाले भने, ‘भूकम्प प्रतिरोधी भवन निर्माण दक्ष जनशक्ति तयार भएका छन् । विगतको अनुभव र पाठलाई ख्याल गर्दै आवश्यकता अनुसार दक्ष जनशक्तिलाई तत्काल काममा ल्याउन सम्बन्धिन निकायलाई अनुरोध गर्दछु ।’
नेपालमा १९९० सालमा गएको शक्तिशाली भूकम्पको सम्झना गर्दै भूकम्प सुरक्षा दिवस मनाइदै आइएको छ। यो वर्ष कोभिड महामारीको त्रासबीच भर्चुअल र भौतिक उपस्थितमिा कार्यक्रम भएको हो। प्रधानमन्त्री देउवाले भर्चुअल माध्यमबाट कार्यक्रमलाई सम्बोधन गरेका हुन्।
उनले भूकम्पबाट जोगिन र जोगाउन सबैलाई आग्रह गरेका छन् । यस्तै, प्रधानमन्त्री देउवाले विपद् न्युनिकरणका लागि तीनवटै सरकारको सहकार्य आवश्यक रहेको औंल्याउएका छन् । कमजोर संरचना, अव्यवस्थित सहरीकरण, सार्वजनिक र निजी भवन निर्माण गर्दा विशेष ख्याल गर्नुपर्ने उनको भनाइ छ ।