काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पशुपतिनाथ क्षेत्र परिसरमा बनाइएको धर्मशाला देखेर आफू ‘सक्ड’ भएको बताएका छन् ।
छानबिन समितिका सदस्य, पशुपति क्षेत्र विकास कोषका पदाधिकारीसहित पशुपति क्षेत्रमा आइतबार बतास अर्गनाइजेशनले व्यवस्थापनको जिम्मेवारी लिएको धर्मशालाको निरीक्षणपछि मन्त्री आलेले धर्मशाला त सेभेन स्टार होटलजस्तो देखेर आफू ‘सक्ड’ भएको बताएका हुन् ।
‘फाइभ स्टार होइन, सेभेन स्टारजस्तै लागेको छ, म ‘सक्ड’ भएँ। धर्मशाला कसरी टेन्डर दिइएको छ, कसको साँठगाँठ छ, भोलि प्रतिवेदन आइसकेपछि सबैकुरा छर्लङ हुन्छ,’ आलेले भने।
उनले तत्कालीन प्रधानमन्त्री केपीशर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा उद्घाटन गरेको नेपाल–भारतमैत्री धर्मशाला धर्मशालाको रूपै नरहेको जिकिर गरे।
‘भारतीय सरकारको २५ करोड लगानीमा धर्मशालाको निर्माण भएको छ। पशुपति दर्शनका लागि आउनेतिर्थालुहरूलाई सस्तो र सुलभ ढंगमा बस्न पाउन् भनेर धर्मशाला बनाइएको हो,’ उनले भने,‘धर्मशालाको रूपै छैन। ५५ सयदेखि ११ हजार कोठा भाडा उठाउने गरिएको छैन। मलाई त यो सेभेनस्टार जस्तै लाग्यो।’
छानबिन समितिले सोमबार प्रतिवेदन बुझाएपछि सबै सत्यतथ्य बाहिर ल्याउन बताएका मन्त्री आलेले धर्मशालामा सस्तो र सर्वसुलभ हुनुपर्नेमा एउटा कोठामा एक जना बस्दा पाँच हजार ५०० र दुई जना बस्दा ११ हजार रुपैयाँ लिने गरिएको देखिएको बताए ।
आफूले राजनीतिक प्रतिशोध कसैमा नसाँधेको बताएका उनले जोसुकैले गलत गरेको भए पनि कारबाही गरेरै छाड्ने प्रतिबद्धता जनाए ।