काठमाडौं। राजनीतिक दलहरुसँग परामर्श गर्न निर्वाचन आयोगले बोलाएको सर्वदलीय बैठकमा दलका प्रतिनिधि सहभागी हुने क्रम जारी छ।
स्थानीय चुनावबारे दलहरुसँग छलफलका बैठक बोलाइएको आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले जानकारी दिए। संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने १७ दललाई निमन्त्रणा गरिएको बैठकमा अहिले दलका प्रतिनिधि सहभागी हुने क्रम जारी छ।
अहिलेसम्म नेपाली कांग्रेसका रमेश लेखक, एमालेका तर्फबाट विष्णु रिमाल र निरज आचार्य डा भीष्म अधिकारी तथा माओवादी केन्द्रका तर्फबाट लीलामणि पोखरेल एवंं नेमकिपाका प्रेम सुवाल आयोग पुगेका छन्।
त्यसैगरी, नेपाली जनता दलका हरिचरण शाह तथा नेपाल संघीय समाजवादी पार्टीका मोहम्मद रिजवान अन्सारी आयोग पुगेका छन्। अन्य दलका प्रतिनिधि नआइपुगेकाले साढे ११ बजे सुरु हुने भनिएको सुरु हुन सकेकना छैनन्।
आयोगले आगामी माघ १२ हुन गइरहेको राष्ट्रिय सभा सदस्यको निर्वाचनका बारेमा समेत दलहरुसँग छलफल गर्नेछ। अहिले मतदाता नामावली संकलनको काम भइरहेका विषयमा पनि सर्वदलीय बैठकमा आयोगले दलहरुलाई जानकारी दिने कार्यक्रम रहेको छ।
त्यस्तै स्थानीय तहको निर्वानको मिति तय गर्ने विषयमा पनि छलफल हुनेछ। निर्वाचन आयोगले गत पुस ९ गते नै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर वैशाख १४ र २२ गते स्थानीय तहको चुनावका विषयमा प्रस्ताव गरेको थियो। तर, यस बारेमा सरकारले निर्णय गरिसकेको छैन।
सरकारले निर्वाचनको मितिका बारेमा निर्णय गरेमा निर्वाचन आयोगले थप आवश्यक तयारी अघि बढाउने जानकारी गराइसकेको छ। पाँच दलीय गठबन्धनको सरकारमा निर्वाचनका विषयमा आवश्यक छलफल अहिलेसम्म हुन सकेको छैन। यसअघि २०७४ वैशाख र असार गरेर दुई चरणमा स्थानीय तहको निर्वाचन भएको थियो।