काठमाडौं । नेपाली नर्सलाई बेलायतमा रोजगारीको अवसर दिनेबारे बेलायत र नेपालबीच औपचारिक वार्ता शुक्रबार (आज)देखि सुरु हुने भएको छ । नेपाल र बेलायत सरकारले गठन गरेको वार्ता टोलीले शुक्रबारदेखि औपचारिक रुपमा नर्स बेलायत लैजानेबारे छलफल गर्न लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले बताए ।
बेलायत सरकारले एक पत्र पठाएपछि मन्त्रालयले दुबै पक्षबाट कार्यदल बनाएर वार्ता अघि बढाउन बेलायत सरकारलाई प्रस्ताव गरेको थियो। त्यसैअनुसार बेलायतले नेपालस्थित दूतावासका एक अधिकारीको नेतृत्वमा वार्ता टोली बनाएको छ । नेपाली वार्ता टोलीको नेतृत्व मन्त्रालयका सहसचिव राजीव पोखरेलले गर्नेछन् ।
बेलायतसँग करार अवधि, श्रमिकको हित, सुविधा र छनोट विधिसहितका प्रक्रिया बारेमा छलफल हुनेछ । वार्ता सफल भएमा बेलायतले नेपालबाट चरणबद्ध रुपमा नर्स लैजाने बताइएको छ ।
बेलायतले नेपाली नर्सलाई रोजगारी प्रदान गर्ने भन्दै श्रम सम्झौता गर्ने प्रस्ताव गरेपछि श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले यसअघि आन्तरिक छलफल गरेको थियो । मन्त्रालयले सो विषयमा आन्तरिक छलफल गरेपछि केही सर्त तथा आफ्नो प्रस्तावहरु तय गरेको छ ।
मन्त्रालयका सहायक प्रवक्ता डा थानेश्वर भुसालका अनुसार दुई देशबीच छलफल भएपछि नेपाली नर्स पठाउने प्रक्रिया कस्तो हुने भन्ने तय गरिनेछ । सोही बैठकले नेपाली नर्स बेलायत पठाउने प्रक्रियाबारे निर्देशिका बनाउने विषयमा पनि छलफल हुने छ ।
नेपाल सरकारले इजरायलमा नेपाली श्रमिक पठाउन अपनाएको मोडालिटी राम्रो लागेको र सोही प्रक्रिया अनुसार नेपाली नर्स पठाउन बेलायतले माग गरेको श्रम मन्त्रालयका सहायक प्रवक्ता डा भुसालको भनाइ छ । उनका अनुसार बेलायतले ‘जिटुजी’ अर्थात सरकारले नै नेपाली नर्स पठाउन प्रस्ताव गरेको छ ।
कुन तहका नर्स कसरी पठाउने? कस्तो नर्सिङ जनशक्ति चाहिएको हो? त्यसबारे शुक्रबारको बैठकमा छलफल हुँदैछ ।बेलायत सरकारले रोजगारीका लागि जाने नर्सहरुले इन्टरनेसनल इंग्लिस ल्यांग्वेज टेस्टिङ सिस्टम (आइइएलटिएस)मा ७ अंक प्राप्त गर्नुपर्नेे प्रस्ताव यसअघि नै गरिसकेको छ ।
तर नेपालले भने ६ वा ६ दशमलब ५ प्रतिशत अंकलाई पनि मान्यता दिन प्रस्ताव गर्ने तयारी गरेको छ । बेलायतमा वर्किङ भिषामा जाने नेपाली नर्स ५ वर्ष मात्रै काम गर्न र त्यसपछि नेपाल फर्कनुपर्ने सर्त नेपालले तय गरेको छ ।