काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको नवौं चरणका खेलहरु शुक्रबारबाट सुरु हुँदैछ । शुक्रबार नवौं चरणका दुई खेल हुनेछन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा एपीएफ क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
यस्तै दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
उपाधि होडलाई जिवन्त राख्न मनाङ सातदोबाटो युथ क्लबसँग सर्तक रहेर खेल्नेछ । किने भने सातदोबाटो युथ क्लबले बलिया टोलीविरुद्ध राम्रो नतिजा निकाल्दै अंक जोडिरहेको छ ।
मनाङका प्रशिक्षक तोपे फुजाले क्लब जुन भए पनि आफ्नो टोली तीन अंकका लागि खेल्ने बताएका छन् । यता सातदोबाटो युथ क्लबले पनि राम्रो नतिजाका लागि खेल्ने बताएको छ ।
शीर्ष डिभिजनमा उक्लिएसँगै तारिफ योग्य प्रदर्शन गरेको सातदोबाटोका प्रशिक्षक सुरज महर्जनको भनाई छ । आठौं चरणको समाप्तिमा साविक विजेता मच्छिन्द्र फुटबल क्लब सहिद स्मारक ए डिभिजन लिगको र्शीष स्थानमा रहेको छ ।
नवौ चरणको खेलमा मच्छिन्द्रले ब्रिगेड ब्वाइजसँग प्रतिस्पर्धा गर्नेछ । लिगको नवौं चरणको पूर्वसन्ध्यामा सबै क्लबले जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने बताएका छन् ।
यसैबीच, कोरोना भाइरसको बढ्दो संक्रमणसँगै लिगमा उपस्थित दर्शकलाई पनि स्वास्थ्य सावधानीका लागि बलियो मापदण्ड तय गरिने आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । लिगका निर्देशक सन्जीव मिश्रले लिगमा उपस्थित दर्शकलाई अब अनिवार्य कोरोना भाइरसविरुद्ध खोप लगाएको कार्ड देखाउनु पर्ने प्रावधान राखिएको बताएका छन् ।
उनका अनुसार दर्शकले अब टिकट लिँदा अनिवार्य खोप लगाएको कार्ड देखाउनुपर्ने छ। प्यारापिटमा दर्शकलाई एक सिट खाली राखेर अर्को सिटमा बस्ने व्यवस्था मिलाइनेछ ।
खाली सिटमा स्टिकर टाँसिनेछ । खेलाडी र अफिसियललाई पनि मास्क, स्यानिटाइजरलगायत सम्पूर्ण जोखिम न्यूनीकरणका मापदण्ड पूरा गरेर सहभागि गराइने मिश्रले बताए ।
मिश्रका अनुसार लिगमा सहभागी टोलीका खेलाडीलाई कोरोना संक्रमण भएमा क्लबसँगको समन्वयमा खेलाडीको उपचार लगायत सबै व्यवस्था एन्फाले गर्नेछ ।