काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले माफियाहरूसँग राज्य नडराउने बताएका छन् । चिकित्सा शिक्षाका विद्यार्थीहरूमाथि भएको अनियमितताको बारेमा विभिन्न राजनीतिक दलका विद्यार्थी संगठनहरूले बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री पौडेलले कसैको धम्की र दबाव सरकारलाई मान्य नहुने बताएका हुन् ।
उनले कानुनसम्मत काम नगरी विद्यार्थीहरूबाट जथाभाबी शुल्क लिएको पाइए कानुन बमोजिम कारबाही गर्ने पनि बताए । मन्त्री पौडेलले कुनै पनि शक्तिले केन्द्रमा धाएर वा सरकारलाई दबाव दिएर कानुन विपरीतका काम गरे मन्त्रालयले छुट नदिने भन्दै सम्बन्धित विश्वविद्यालयका प्रतिनिधिहरूलाई बोलाएर भोलिसम्म समस्याको समाधानमा लाग्ने बताए । उनले राज्यका निकायलाई धम्क्याउने, अनावश्यक प्रयोग, परिचालन गर्ने, कानुन आफ्नो हातमा लिने, कानुन विपरीत काम गर्ने, शक्ति केन्द्रहरू धाएर कानुन विपरीतका कामहरू ढाकछोप गर्न खोज्ने प्रकारको प्रवृत्तिलाई शिक्षा मन्त्रालयले सहन नसक्ने बताए ।
मन्त्री पौडेलले शिक्षा मन्त्रालय यी कुरामा मुकदर्शक भएर नबसेको भन्दै मन्त्रालय र आयोग मिलेर सार्वजनिक धारणा बनाइ कारबाही अघि बढाउने बताए । त्यस्तै चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले आयोगको तर्फबाट गर्नुपर्ने कामका लागि आयोग पछि नहट्ने बताए । उनले सुरुका दिनदेखि नै आयोगले अनियमित कुराहरूलाई नियमित गर्न लागि परेको पनि बताए ।
विभिन्न राजनीतिक दलका विद्यार्थी संगठनहरूले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क लिइ एमबीबीएस, बीडीएस र बीएन एसमा नोबेल मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज, मणिपाल मेडिकल कलेजले विद्यार्थीहरूसँग बढी शुल्क लिएको भन्दै शिक्षामन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् । उनीहरूले शिक्षाजस्तो अत्यावश्यक सेवा आफ्नो चंगुलमा राख्ने र विद्यार्थीको अधिकार र भविष्यमा प्राप्त सफलतामाथि अंकुश लगाउन खोजेको आरोप लगाएका छन् ।