काठमाडौं। कोरोना संक्रमण रोकथामका लागि जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगका आगामी खेलमा सामाजिक दूरी कायम गरेर दर्शक राखिने भएको छ।
संक्रमणको जोखिम बढ्दै गएकाले अखिल नेपाल फुटबल संघ (एन्फा)ले सामाजिक दूरी कायम गरेर दर्शक राख्ने तयारी गरेको लिग कमिटिका संयोजक सञ्जिव मिश्रले जानकारी दिए।
जारी लिगको आठौं चरणसम्म पूर्ण दर्शक क्षमताका लागि ढोका खुला थियो। तर, नवौं चरणदेखि सबै खेलमा सामाजिक दूरी अनिवार्य गरेर प्यारापिटमा टाँसिएको स्टिकरको कार्यान्वयन हुने छ।
यता, कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को मंगलबार बसेको बैठकले रंगशाला प्रवेशका लागि कोरोनाविरुद्धको खोप लगाएको कार्ड अनिवार्य गरेको छ।
जारी लिगको आठौं चरण सकिँदा मछिन्द्र फुटबल क्लब २० अंकसहित शीर्ष स्थानमा छ। यस्तै, दोस्रो स्थानको मनाङ मर्स्याङ्दी क्लबको १९ र तेस्रो स्थानको संकटाको १४ अंक छ।
च्यासलका दुई खेलाडीमा संक्रमण
च्यासल युथ क्लबका दुई खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ। जारी लिगको नवौं चरणका खेलअघिको पत्रकार सम्मलेनमा बोल्दै बिहीबार च्यासलका सहायक प्रशिक्षक आशिक थापा मगरले डिफेन्डर कमल श्रेष्ठ र गोलकिपर प्रदीप भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।
च्यासल आठौं चरणअन्तर्गत मनाङ मर्स्याङ्दी क्लबविरुद्धको खेलका लागि पोखरा गएको थियो। यता, जावलाखेल युथ क्लबका खेलाडीमा रुघाखोकी फैलिएको छ।
मुख्य प्रशिक्षक किशोर केसीका अनुसार टोलीका आधाभन्दा धेरै खेलाडी रुघाखोकीले ग्रस्त भएपछि बिहीबार बिहानको ट्रेनिङ सेसनमा दुई गोलकिपरसहित १४ खेलाडी मात्रै उपस्थित भएका थिए।
खेल हुने दिनसम्म सबै खेलाडी ठीक हुनेमा आफू आशावादी रहेको प्रशिक्षक केसीले बताए। जावलाखेलले नवौं चरणमा सोमबार न्यूरोड टिम (एनआरटी)को सामना गर्दैछ।
जावलाखेल ८ अंकसहित नवौं स्थानमा छ। उसले आठौं चरण सकिँदा २ जित, चार हार र दुई बराबरीको नतिजा निकालेको छ।
एन्फाले सिजन सुरु हुनुअघि लिग दौरान कुनै पनि खेलाडीलाई कोरोना संक्रमण देखिए सम्पूर्ण उपचार खर्च आयोजकले बेहोर्ने बताएको थियो। तर, हालसम्म कुनै पनि खेलाडीमा कोरोना संक्रमण देखिएको एन्फाले आधिकारिक रूपमा सूचना जारी गरेर जानकारी दिएको छैन।