काठमाडौं । कोरोना सङ्क्रमण बढ्न थालेपछि विज्ञहरुले खोपको पहुँच र दायरा बढाउन आग्रह गरेका छन् । आउँदो माघ ७ गतेदेखि सार्वजनिक ठाउँमा जाँदा खोप कार्ड अनिवार्य गरिएपछि खोप लगाउनेहरुको सङ्ख्या पनि बढेको छ ।
तर खोप केन्द्र थोरै हुँदा नागरिकलाई असहज भएको छ । सरकारले पुस मसान्तसम्म १८ वर्षका दुई तिहाइ जनसङ्ख्यालाई खोपको पूरा मात्रा दिने लक्ष्य लिएको छ ।
अहिलेसम्म वाग्मती र गण्डकी प्रदेशले मात्र यो लक्ष्य हासिल गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, परिवार कल्याण महाशाखाको तथ्याङ्कअनुसार गण्डकी प्रदेशमा ८३ प्रतिशतले एक डोज र ७९ प्रतिशतले पूर्ण खोप लगाएका छन् ।
वाग्मतीमा ७८ प्रतिशतले पहिलो र ७५ प्रतिशतले पूर्ण खोप लगाइसकेका छन् । प्रदेश–१ मा ७२ प्रतिशतले पहिलो र ५० प्रतिशतले पूर्ण तथा प्रदेश–२ मा ५२ प्रतिशतले पहिलो र ४२ प्रतिशतले पूर्ण डोज लगाएका छन् ।
लुम्बिनीमा ७२ प्रतिशतले पहिलो र ५२ प्रतिशतले पूर्ण तथा कर्णालीमा ५५ प्रतिशतले पहिलो र ४७ प्रतिशतले दोस्रो डोज लगाएका छन् । सुदूरपश्चिममा ६३ प्रतिशतले पहिलो र ५६ प्रतिशतले पूर्ण खोप लगाइसकेका छन् ।
बुधबारसम्म कुल जनसङ्ख्याको ३७ दशमलव ८ प्रतिशतले पूर्ण खोप लगाइसकेका छन् । यसैबीच,कोभिड–१९को संक्रमण बढ्न थालेपछि काठमाडौंमा निजी अस्पतालबाट पनि खोप लगाउन थालिएको छ । स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार ६ वटा निजी अस्पतालबाट पनि कोभिडविरुद्धको खोप उपलब्ध गराउने व्यवस्था मिलाइएको हो ।
काठमाडौं मोडल अस्पताल प्रदर्शनीमार्ग, पिपुल्स डेन्टल कलेज एन्ड हस्पिटल सामाखुसी, जनमैत्री अस्पताल बालाजु, नर्भिक अस्पताल थापाथली, शुभेच्छा अस्पताल सीतापाइला र नोबेल अस्पताल सिनामंगलबाट कोभिडविरुद्धको खोप निःशुल्क लगाउन पाइने स्वास्थ्य कार्यालय प्रमुख शम्भु काफ्लेले जानकारी दिए ।