काठमाडौं । खेलमा तीनपटक अग्रता लिदै सिजनको दोस्रो एल क्लासिकोमा रियल म्याड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेका छन् । रियलले बार्सिलोनालाई अतिरिक्त समयमा ३–२ ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।
रियलको जितमा भिनिसियस जुनियर, कप्तान करिम बेन्जेमा र फेडे भाल्भेर्डेले गोल गरे । बार्सिलोनाका लुक डि जोङ र अन्सु फातीले गोल गरे । रियलले खेलमा तीनपटक अग्रता लिदै जित निकाल्न सफल भएको हो ।
साउदी अरबको रियादस्थित किङ फाद इन्टरनेसन स्टेडियममा बुधबार राति भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलको २५औं मिनेटमा भिनिसियसको गोलबाट रियलले अग्रता बनाएको थियो । उनले कप्तान करिम बेन्जेमाको पासमा गोल गरेका थिए ।
४१औं मिनेटमा लुक डि जोङले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ७२औं मिनेटमा कप्तान करिम बेन्जेमाले गोल गर्दै खेललाई २–१ को अवस्थामा अघि बढाए ।
८३औं मिनेटमा अन्सु फातीले जोर्डी अल्वाको पासमा गोल गर्दै खेललाई अतिरिक्त समयमा लम्ब्याए । अतिरिक्त समयको आठौं मिनेट अर्थात ९८औं मिनेटमा सब्सिच्युट मिडफिल्डर फेडे भोल्भेर्डेको गोलबाट रियलले खेलमा ३–२ को अग्रता लिन सफल भयो ।
८३औं मिनेटमा लुका मोड्रिचको स्थानमा मैदान छिरेका फेडेले ६८औं मिनेटमा मार्काे एसेन्सियोको स्थानमा मैदान छिरेका रोड्रिगोको पासमा गोल गर्न सफल भएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा रियलले जित निकाल्न सफल भयो ।
रियलले सिजनको पहिलो एल क्लासिकोमा पनि बार्सिलोनालाई उसकै मैदानमा २–१ को जित निकालेको थियो । यो जितसँगै रियलले एल क्लासिकोमा बार्सिलोनासँग लगातार ६ खेलसम्म अपराजित रहन सफल भएको छ ।
रियल ३ मार्च २०१९ मा घरेलु मैदानमा १–० ले पराजित भएयता बार्सिलोनासँग अपराजित छ । अब रियलले उपाधिका लागि १७ जनवरीमा एट्लेटिको म्याड्रिड र एथलेटिको बिल्वाओबीचको विजेतासँग खेल्दैछ । यो खेल बिहीबार आज राति हुँदैछ ।